क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार उनको सरकारले देशमा कम पारिश्रमिक लिने र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने घोषणा गरेका छन्। उनले अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय भएको बताए। जस्टिन ट्रुडोले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएका हुन्। अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ। ‘हामी क्यानाडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं। श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूले क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय हो,” ट्रूडोले ट्विटरमा पोस्ट गरे। क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो। यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविदहरू बताउँछन्। संघीय तथ्यांकका अनुसार गत वर्ष क्यानाडाको जनसंख्या वृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो। ट्रुडो र उनको सरकार देशमा सेवा र आवास निर्माण जस्ता सुविधाहरू नबढाई अध्यागमनलाई बढावा दिएकोमा आलोचना भइरहेको छ। जबकि पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ। यसको अर्थ देशभर करिब १४ लाख मानिस बेरोजगार छन्।