नाम्ची: मानव उत्थान सेवा समिति नाम्ची र सुम्बुक तहसीलको संयुक्त तत्वावधानमा अनि नन्दुगाऊँ शाखाको विशेष सक्रियतामा नन्दुगाऊँस्थित श्री हंस आश्रमको सत्संग हलमा श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सत्संग समारोहको आयोजना गरेको थियो। उक्त समारोहमा क्षेत्र विद्यायक तथा सिक्किम सरकारका शहरी विकास, खाद्य एवं आपूर्ति मन्त्री भोजराज राई मुख्य अतिथिको रुपमा उपस्थित थिए। यस अवसरमा गत विधानसभा चुनाउमा भारी मतले विजयी बनेकोमा मन्त्रीलाई नाम्ची तहसील प्रभारी महात्मा सुमति बाईजी साथै सुम्बुक तहसील प्रभारी महात्मा चन्द्रकान्ति बाईजीको बाहुलीबाट अभिनन्दन जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोजराज राईले आध्यात्मिक सङ्गठनसँग जोड़िएर कार्य गरे सबै सफल र असल हुने बताए। आफूलाई यसरी सम्मान गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा समितिको निम्ति सेवा गर्न परे आफू सदैव तत्पर रहने पनि उनले थप बताए।
कार्यक्रमलाई नाम्ची तहसील प्रभारी महात्मा सुमति बाईजी, सह प्रभारी महात्मा अणिमा बाईजी र सुम्बुक तहसील प्रभारी महात्मा चन्द्रकान्ति बाईजीले पनि सम्बोधन गरिन्। यस अवसरमा भक्ति सङ्गीत मञ्चबाट सुन्दर भजनहरू प्रस्तुत गरिएको थियो भने बाल सभाका नानीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय पञ्चायतगण शिक्षक-शिक्षिकागण साथै स्थानीय श्रद्धालुहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।










