नयाँ दिल्ली: प्रतिक्षाको घडी सकिएको छ। भारतीय क्रिकेटलाई ठूलो उचाइमा पुर्याएपछि बीसीसीआई सचिव जय शाह नयाँ इनिङका लागि तयार छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आगामी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसरी फेरि एक पटक भारतीयहरूले विश्व क्रिकेटमा राज गर्नेछन्। शाहले १ दिसम्बर २०२४ मा यो प्रतिष्ठित पद ग्रहण गर्नेछन्। योसँगै उनी आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बन्नेछन्। उनी अहिले ३५ वर्षका हुन्। जय शाह अक्टोबर २०१९ देखि बीसीसीआईको सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको रुपमा काम गरिरहेका छन्।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी त्यागेका थिए। उनको निर्णयपछि जय शाह अध्यक्ष हुने पक्का भएको थियो। यस इनिङ्सको बारेमा शाहले आईसीसीलाई भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षको हैसियतमा मेरो यो इनिङ्सबाट म अभिभूत छु। क्रिकेटलाई विश्वव्यापी बनाउन आईसीसी टोली र हाम्रा सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न म प्रतिवद्ध छु।‘ क्रिकेट ढाँचाका विभिन्न चुनौतीहरूबारे उनले भने, ‘हामी एउटा महत्वपूर्ण मोडमा उभिएका छौं, जहाँ बहुविध ढाँचालाई सन्तुलनमा राख्ने, क्रिकेटलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय बजारमा यसलाई मुख्य रूपमा सफल बनाउन महत्वपूर्ण छ। हाम्रो उद्देश्य क्रिकेटलाई पहिलेभन्दा बढी समावेशी र लोकप्रिय बनाउने हो।‘ उनले अझ भने, ‘सिकेका पाठमा हामी काम गर्नेछौं। विश्वभर क्रिकेटप्रतिको माया बढाउन हामीले नयाँ सोच र नयाँ विचारमा काम गर्नुपर्छ। एलए २०२८ ओलम्पिकमा हाम्रो खेल समावेश हुनु क्रिकेटको विकासको लागि एउटा टर्निङ प्वाइन्ट हो। म विश्वस्त छु कि यसले खेललाई अभूतपूर्व तरिकाले अगाडि बढाउनेछ।‘