खरसाङ: खरसाङमा खेल अनि खेलाडीहरुले भोग्न परिरहेका विविध समस्याहरूलाई लिएर आज मङ्गलबार खरसाङका विभिन्न खेलकूद सङ्घका प्रतिनिधिहरूले खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घका सचिव निर्मल गुरुङको नेतृत्वमा खरसाङ महकुमा अधिकारी आईएएस बिन्दावासी तेजा दिपकसँग भेट गरेका छन्। उक्त भेटमा प्रतिनिधिहरूले महकुमा अधिकारीलाई खरसाङमा अन्तराष्ट्रिय बडी बिल्डिङका निर्णायक सञ्जय छेत्री, रकबीका पूर्व भारतीय दलका कप्तान सुजय लामा जस्ता दिग्गज खेलाडीहरू रहे तापनि खरसाङमा नै खेल सम्बन्धमा त्यस्तो कुनै बुनियादी सुविधाहरू समेत नभएकोले यहाँका खेलाडीहरूले धेरै समस्या भोग्न परिरहेको अवगत गराए। उनीहरूले खरसाङमा विशेष गरी एउटा सार्वजनिक खेल मैदान नभएको अवगत गराए भने यद्यपि यस सन्दर्भमा जीटीएका मुख्य कार्यपाल अनित थापाले भरपूर चेष्टा गरिरहेको औ अब उनको चेष्टा अनि खरसाङवासीको माग चाँडै पूरा हुने आशा व्यक्त गर्दै यसको निम्ति जीटीए मुख्य कार्यपाल अनित थापाप्रति आभार व्यक्त गरे। यता महकुमा अधिकारीले पनि सबै प्रतिनिधिहरूको कुरालाई गम्भीरतापूर्वक लिँदै यस सन्दर्भमा आफ्नो विभागीय पक्षबाट पनि कुरा राख्ने अवगत गराए। हाम्रा पहाडका खेलाडीहरूले पनि विभिन्न खेलहरूमा आफ्नो अनि जातिकै नामलाई उच्च राख्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतिष्पर्धाहरूमा भाग लिने गरेको भए तापनि तर यहाँ सार्वजनिक खेल मैदानको आवश्यकता रहेको औ खेल सम्बन्धमा खेलाडीहरूले उस्तो सुविधा नपाउँदा तिनीहरू अघि बढ्न नसकेको कुरा महकुमा अधिकारीलाई जनाए औ यसको निम्ति महकुमा अधिकारीको भूमिका मुख्य रहेको पनि जनाए भनी सचिव निर्मल गुरुङले जानकारी दिएका छन्।