कोलकाता: पश्चिम बंगालको बाल सुरक्षा आयोगले तृणमूल कांग्रेसका अखिल भारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीकी नौ वर्षीया छोरीलाई दुष्कर्म गर्ने लज्जास्पद धम्की दिएको लगत्तै यस्तो गम्भीर मामलामा तत्काल कारबाही गरेको छ। आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको दुष्कर्म र हत्याको विरोधमा आयोजित प्रदर्शनका क्रममा यस्तो धम्की दिइएको छ। आयोगले यस घटनालाई गम्भीरताका साथ लिएको र यस विषयमा तत्काल प्रभावकारी कारबाही गर्न पुलिसलाई सुझाव दिएको छ। आयोगले भनेको छ कि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एक व्यक्तिले अभिषेक ब्यानर्जीकी छोरीलाई कसैले दुष्कर्म गरे १० करोड रुपियाँ पुरस्कार पाउनेछ भनी सुन्न सकिन्छ। यस बाहेक भिडियोमा केही व्यक्तिले यो आपत्तिजनक कमेन्टमा खुशी व्यक्त गरेको पनि देखिएको बताइएको छ।
बाल सुरक्षा आयोगले यस अवस्थालाई लिएर प्रतिक्रिया दिँदै यस्ता धम्कीहरू पूर्णतया गैरकानूनी भएको र यसले समाजलाई खतरनाक सन्देश दिनसक्ने बताएको छ। आयोगले पुलिससँग आरोपीलाई तुरुन्त पक्राउ गर्न माग गरेको छ, र यस मुद्दाको अनुसन्धान गर्न प्रोटेक्सन अफ चिल्ड्रेन फर्म सेक्सुअल अफेन्सेस (पोक्सो) र युनाइटेड नेशन्स कन्भेन्सन अन द् राइट्स अफ द् चाइल्ड (युएनसीआरसी) ऐन अन्तर्गत कानुनी कारबाही गर्न पनि अपील गरेका छन्। आयोगको विज्ञप्तिमा देशैभर दुष्कर्मका घटनाविरुद्ध आवाज उठिरहेको अवस्थामा त्यस्ता धम्की र टिप्पणी अत्यन्त आपत्तिजनक रहेको पनि उल्लेख छ। आयोगले आरोपितलाई तत्काल पक्राउ गर्न मात्र नभई बालिकाको सुरक्षाका लागि ठोस कदम चाल्न पनि पुलिसलाई आग्रह गरेको छ।