भद्रपुर: आर्थिक वर्ष २०२३-२०२४ मा चितवन राष्ट्रिय निकुञ्जमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या अहिलेसम्मकै धेरै रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा उक्त आर्थिक वर्ष ३ लाख ६ हजार ८ सय ३७ जना पर्यटक भ्रमण गर्न आएको तथ्यांक रहेको छ। त्यसमा आन्तरिक पर्यटक अर्थात् नेपालीहरूको संख्या १ लाख ७६ हजार ३ सय १६ रहेको छ। स्मरण रहोस्, त्यसअघिको आर्थिक वर्ष २०२२-२०२३ मा चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने नेपालीको संख्या २ लाख ७६ हजार ३ सय १६ थियो। तथ्यांक हेर्दाखेरि आर्थिक वर्ष २०२२-२०२३ मा अहिलेसम्मकै धेरै संख्यामा नेपालीहरू चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएको रेकर्ड कायम भएको छ।
त्यस्तै सार्क देशका पर्यटक आर्थिक वर्ष २०२३-२०२४ मा ३६ हजार ४ सय ७१ जना चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका थिए भने आर्थिक वर्ष २०२२-२०२३ मा सार्क देशबाट ३७ हजार ९ सय ३५ जना आएका थिए। अन्य देशका पर्यटक आर्थिक वर्ष २०२३-२०२४ मा ९४ हजार ५० जना चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका छन्। जब कि आर्थिक वर्ष २०२२-२०२३ मा अन्य देशका ५५ हजार ८ सय ७२ जना पर्यटकले मात्रै चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।
यसरी तथ्यांक हेर्दाखेरि नेपालीहरू र सार्क देशका पर्यटकको संख्या केही घटेको देखिए तापनि अन्य देशका पर्यटक बढेको हुनाले आर्थिक वर्ष २०२३-२०२४ मा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका पर्यटकबाट संकलन भएको राजस्व रकम पनि बढेको छ। उक्त आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका पर्यटकबाट जम्मा ३० करोड ५७ लाख १८ हजार ४ सय नेपाली रुपैयाँबराबर राजस्व संकलन भएको छ। जबकि अघिल्लो आर्थिक वर्षमा चाहिँ २२ करोड ९३ लाख ९५ हजार ९ सय ५० नेपाली रुपैयाँबराबर मात्रै राजस्व संकलन भएको थियो। यसरी आर्थिक उपार्जनका हिसाबले हेर्दाखेरि नेपालको निकुञ्ज पर्यटन क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको योगदान महत्वपूर्ण रहने देखिन्छ। हुन पनि चितवन राष्ट्रिय निकुञ्ज नेपालकै अग्रणी राष्ट्रिय निकुञ्ज हो।
नेपालमा हालसम्म सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज रहेका छन् भने निकट भविष्यमा मेरा पिक (स्थानीयवासीको मागचाहिँ ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ हुनुपर्ने भन्ने छ) राष्ट्रिय निकुञ्ज घोषणा हुनेवाला छ। यसरी अहिलेसम्म नेपालमा एक दर्जन राष्ट्रिय निकुञ्ज स्थापना भइसकेका छन्। वार्षिक आम्दानीको हिसाब र पर्यटकले भ्रमण गर्ने गरेको वार्षिक संख्याको हिसाबले हेर्दाचाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज नै प्रमुख स्रोतका रूपमा रहेका छन्।