गान्तोक: डा. हरिप्रसाद छेत्रीद्वारा लिखित “आत्मकथा” पुस्तकको आज ६ माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। यस अवसरमा मुख्य अतिथिको रूपमा राज्यका शिक्षा विभाग मन्त्री राजु बस्नेत रहेका थिए भने विशिष्ट अतिथिमा पद्मश्री सानु लामा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु बस्नेतले सर्वप्रथम यस पुस्तकका लेखक हरिप्रसाद छेत्रीलाई बधाई दिए। यस पुस्तकमा डा. छेत्रीले आफ्नो जीवनमा भोगेका घटनाहरूलाई समेटेर तयार गरिएको बताए। उनले प्रसङ्ग फेर्दै एसकेएम पार्टी २०१९-मा सरकारमा आएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा विभिन्न क्षेत्रमा विकास भएको उल्लेख गरे। उनले उदाहरण दिँदै सिक्किम विश्वविद्यालयको धेरै वर्षसम्म पनि आफ्नो निजी क्यामपस नरहेको र अहिलेसम्म पनि किरायाको घरमा सञ्चालन हुँदै आइरहेको जानकारी गराए। तर एसकेएम पार्टी सरकारमा आएपछि याङगाङमा सिक्किम विश्वविद्यालयको क्याम्पसको निर्माण कार्य युद्धस्तरमा सञ्चालन भइरहेको र अहिलेसम्म दुइ तीनवटा विभाग त्यहाँ सारिएको अवगत गराए। अबको केही महिनामा नै सम्पूर्ण क्याम्पसको निर्माण कार्य पुरा हुने सम्भावना व्यक्त गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको बागडोर सम्हाल्नमा केही विलम्ब भएको उनले महसुस गरे। यदि पहिला नै मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको वागडोर सम्हालेको भए अहिलेसम्म राज्य धेरै अघि बढिसकेको हुन सक्ने जानकारी गराए।
यसै क्रममा पद्मश्री सानु लामाले आत्मकथा लेख्नको निम्ति लेखक इमान्दार हुनुपर्ने बताए।उक्त पुस्तक तयार गर्नको निम्ति लेखककोमा आँट र जाँगर हुन आवश्यक रहेको जानकारी गराए। लेखकले आत्मकथा लेख्दा आफूले जीवनमा भोगेका राम्रो र नराम्रो दुइटा पाटालाई समेटन आवश्यक रहेको बताउँदै यदि लेखकले आफ्नो नराम्रो पक्ष पुस्तकमा उल्लेख गर्न नसकेमा पुस्तक अधूरो रहने उनले मन्तव्य प्रकट गरे। आत्मकथा लेखन क्षेत्रमा नेपाली समाज गरीब रहेको पन उनले उल्लेख गरे।थौरे व्यक्तिहरूले मात्र आत्मकथा लेखेको उनले जानकारी गराए। यसरी नै साहित्य अनुवादमा पनि नेपाली समाज पछि परेको र गरीब रहेको बताए।
यस अवसरमा डा. छेत्रीको संक्षिप्त परिचय एरोन राईले पाठन गरे भने सो पुस्तकको निरूपणात्मक मन्तव्य डा. टेकबहादुर छेत्रीले गरे। सोही प्रकारले प्रकाशकीय मन्तव्य राजा पुनियानीले राखेका थिए। कार्यक्रममा सोही महाविद्यालयका विद्यार्थीहरूद्वारा गीत र नृत्य पनि प्रस्तुत गरेका थिए।