गान्तोक: सिक्किम नेवा गुठी सिक्किमले यसपल्ट पनि इन्द्रजात्रा पर्व भव्यताकासाथ पालन गर्ने भएको छ। आज तादोङ मेट्रो पोइन्टस्थित प्रेस क्लव अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिले उक्त जानकारी गराएको हो। यसपल्ट “हाम्रो चाड़ हाम्रो पहिचान’’-को सन्देशसहित १५ देखि २२ सेप्टेम्बरसम्म आठ दिवसीय पर्व पालन गर्ने अवगत गराइएको छ। आगमी १५ सेप्टेम्बरको दिन लिङ्गको स्थापनासँगै राजधानीको विभिन्न ठाउँहरूमा विविध कार्यक्रमहरूको आयोजना गर्ने पनि आयोजक समितिले जानकारी गराएको छ। यस पर्वको अवसरमा नेवारी लोक नृत्य प्रतियोगिता, नेवारी सांस्कृतिक बाजा धिमे प्रतियोगिता अनि साहित्यको विभिन्न विधामा प्रतियोगिताहरू पनि समावेश गरिएको छ। यसको शुरुआत आगामी २६ अगस्तको दिन जोरथाङबाट शुरु हुने समितिले अवगत गराएको छ। यी जम्मै प्रतियोगिताहरूको समापन १६ सेप्टेम्बरको दिन हुने अनि इन्द्रजात्रा मुख्य पर्वको दिन १७ सेप्टेम्बरमा भने जात्रा साथै मनन केन्द्रमा कार्यक्रम गरिने आयोजक पक्षले जानकारी गराएको छ। राष्ट्रिय स्तरको उक्त दिनको कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित रहने आयोजक पक्षले थप जानकारी गराएको छ। योसँगै पर्वकै अंश सरह १५ देखि १७ सेप्टेम्बरमा एमजी मार्गमा नेवार संस्कृति अनि संस्कारसँग सरोकार राख्ने विभिन्न स्टलहरू प्रदर्शनीमा राखिने भएको छ। कार्यक्रमलाई थप रोचक साथै सार्थक बनाउन १३ सेप्टेम्बरको दिन नेवारी विद्यार्थीहरूको सम्मेलन आयोजन गरिने आयोजक पक्षका प्रतिनिधिहरूले जानकारी गराएका छन्। विभिन्न कार्यक्रमहरूमाझ मनाइने इन्द्रजात्रा पर्वमा सिक्किमका सबै नेवारी समुदायलाई उपस्थित भइदिने पनि आयोजन समितिका प्रतिनिधिहरूले आग्रह गरेका छन्।