दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको दिनको पहिलो म्याच (जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग)-मा दार्जीलिङ पुलिसले गोलको वर्षा गर्दै एकतर्फी जीत हासिल गऱ्यो। म्याचमा दार्जीलिङ पुलिसले घूमजोरबंग्लो स्पोर्टिंग क्लबलाई ९-०-ले पिट्यो। विजेता टीमबाट रुड गुलिटले ह्याट्रिक गरे। उनले १३औं, ३२औं र ४३औं मिनटमा गोल गरे। यसबाहेक वांगचुक तामाङले ११औं, शिवा राउतले १८औं, रियाज थापाले ४६औं, दिवस तामाङले ५३औं, निवास राणाले ६६औं र शुभम लामाले ५७औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीग)-मा मार्वेरिक स्पोर्टिंग क्लबले युनाइटेड रंगबूल फूटबल क्लबलाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमबाट रोशन विश्वकर्माले ह्याट्रिक गरे। उनले ४४औं, ५५औं र ६०औं मिनटमा गोल गरे। यसबाहेक निशान्त छेत्रीले २७औं र अदित्य छेत्रीले ३४औं मिनटमा गोल गरे। यसरी युनाइटेड रंगबूलबाट सिद्धान्त मुखियाले ४०औं र ७०औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल आदेश गुरुङले ८०औं मिनटमा गरे। यसरी आजको दुईवटा म्याचमा जम्मा १७ गोल भयो। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।