दार्जिलिङ: ११ जनजातिको मुद्दालाई राजु बिष्टले अघि लैजानुपर्छ। यही मुद्दामा उसले चुनाव जितेको हो। हामी राजु विष्टको पछि उभिएको हुनेछौं र यदि उसले यसलाई राजनीतिकरण गरेन भने भनी जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आज बताएका छन्। आज युनाइटेड गोर्खा कमिटी फोरमका सदस्यहरूको एउटा टोलीले जीटीए प्रमुख कार्यपाल अनित थापासंग भेटवार्ता गरेका थिए। फोरममा जम्मा २१ जात गोष्ठीका प्रतिनिधिहरूको सदस्यता रहेको टोलीले बताएका छन्। टोलीले जानकारी दिए अनुसार भेटघाट समय ११ गोर्खा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउने मुद्दामाथि विमर्श भयो। विमर्श समय अारजीआई को मोडालिटी, राज्यको सिफारिस, फोरमले आज सम्म चलाएको पहलहरु माथि चर्चा भयो।

अनित थापाले फोरमको पहललाई समर्थन दिँदै सुझावमा भनेका छन् कि मन्त्रीलाई गएर भेट्नु राम्रो हो तर उनीहरूले हामीलाई घुमाई नै रहनेछन्। भाजपाले चुनाव समयमा भोटको निम्ति हाम्रो मनको मुद्दालाई चुनावी मुद्दा बनाएका मात्र हुन्। हाम्रो मुद्दा अहिले पूर्णतः राजनैतिक मुद्दा बनाइएको छ। त्यसैले कसैलाई भेट्नुपर्छ अनि ११ जातगोष्ठीको मुद्दामाथि चाप सृजना गर्नुपर्छ भने उनी हुन हाम्रो सांसद राजु विष्ट। सासंद विष्टले नै यो मुद्दालाई अघि लैजानु सक्छ कारण यसै मुद्दामा उसले चुनाव जितेको पनि हो। हामी राजु विष्टको पछि उभिएको हुनेछौं र यदि उसले यसलाई राजनीतिकरण गरेन भने।

हामीले भुल्नु हुँदैन, ११ गोर्खा जातगोष्ठीलाई जनजाति बनाउने अनि स्थायी राजनैतिक समाधान, यी दुई मुद्दालाई बीजेपीले आफ्नो संकल्प पत्रमा हालेको थियो विगतको चुनावमा। पहाडको गोर्खाले पनि संकल्प पत्रलाई विश्वास गरेर नै राजु विष्टलाई जिताएर सांसद बनाएका हुन्।
अनित थापाले थप भनेका छन् कि राज्य सरकारलाई दोष देखाएर भाजपाले आफ्नो चुनावी दायित्वदेखि भाग्नु सक्दैन न त RGI लाई देखाएर आफू निस्कनु सक्छ। युनाइटेड गोर्खा कमिटी फोरमको पहललाई म समर्थन जनाउँछु। मेरोबाट हुनुसक्ने सबै सहयोग म अवश्य दिनेछु। जातिको मुद्दामा मेरो राजनीति बाधा हुनेछैन।बैठकपछि युनाइटेड गोर्खा कमिटी फोरमका बादशाह प्रधानले भने, ” ११ गोर्खा जातगोष्ठीलाई जनजातिको मर्यादा दिने हाम्रो दीर्घकालीन मांगको आन्दोलनलाई अब हामी चरमसीमा सम्म पुर्याएर लैजानेछौं।” बैठकमा नव मनोनित सभासद विनिता खम्बु राई, जीटीए प्रमुख कार्यपालका प्रमुख सल्लाहकार अमर लामाको पनि उपस्थिति थियो।