झापा: धनकुटाको साँगुरीगढी ३ बाट नाम्जेतर्फ आउँदै गरेको बोलेरो पिकअप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। पिकअप भीरबाट खस्दा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो।
साँगुरीगढीको मुक्तेनबाट नाम्जे आउँदै गरेको को २ च ११०५ नम्बरको पिकअप भीरबाट सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा साँगुरीगढी ६ का ३४ वर्षीय नीरबहादुर मगर रहेका छन्। घटनामा ३९ वर्षीय मीना मगर र ६ वर्षीया श्रेया मगर घाइते भएका छन्।
मृतक नीरबहादुर र मीना श्रीमान–श्रीमती हुन् भने श्रेया छोरी हुन्। श्रेयाको उपचार गर्न उनीहरू आउँदैथिए। मीना र श्रेया ड्राइभर बस्ने सिट नजिकै बसेका थिए भने नीरबहादुर पिअकपको डालामा बसेको प्रहरीले जनाएको छ।
घाइतेहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप चालक उदयपुरगढी ७ का २४ वर्षीय अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।