एक महिनामा ३ अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

IMG-20240825-WA0004

झापा: चालु आर्थिक वर्ष २०२४–२०२५ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत जुलाईमा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपियाँ बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रुपियाँको मात्रै निर्यात गरेको छ।
विभागका अनुसार गत आर्थिक वर्षको सो अवधिको तुलना चालु आर्थिक वर्षको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ। गत जुलाईमा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको हो। नेपालले दोस्रो ठुलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी देशसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ। गत जुलाईमा चीनबाट रु..२४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा रु १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो। कतार, युक्रेन, अस्ट्रेलिया, बहराइन, मलेसियालगायतका देशसँग पनि नेपालको व्यापार घाटा उच्च छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका देशहरूमध्ये १३ देशसँग भने व्यापार नाफा छ। सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो। अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत देशसँग व्यापार नाफा देखिएको छ।
नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन्। गत एक महिनामा मात्र नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ। त्यस्तै, जुलाईमा ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। नेपालले बढी निर्यात गरेका वस्तुहरूमा भने कार्पेट, चिया, स्टिल, धागोलगायत छन्। गत जुलाईमा नेपालले १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement