झापा: म्याग्दीको बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ। शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो।
२०२३ जनबरी २ राति सवा ११ बजे घरबाट बेपत्ता भएकी बेनी-९ तोरीपानीकी १९ वर्षीया मीनाको शव अगस्त १७ मा जंगलमा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जमिनमुनि गाडेको शव उत्खनन गर्दा अनुहार र लिंग पहिचान हुन सकेको थिएन।
‘सडेगलेको मृत शरीर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा पोस्टमार्टम गरिएकामा ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रुणसमेत रहेको’ रिपोर्टले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेनी अस्पतालले ‘विज्ञ डाक्टर’ नभएको भनी फर्काएपछि प्रहरीले अगस्त १७ मा नै शवको पोस्टमार्टम गर्न पोखरा पुर्याएको थियो। पोस्टमार्टम रिपोर्ट बिहीबारमात्र आएको हो।
‘सडेगलेको मृत शरीर’ महिलाको भएको र गर्भमा सडेगलेको अवस्थामा भ्रुण रहेको पोस्टमार्टम रिपोर्ट आएपछि जिल्ला प्रहरी कार्यालयले आरोपित राम खत्रीकै हो वा होइन भन्ने परीक्षण गर्न ‘मृत शरीर’ र मीना परियारका परिवारका सदस्यहरु तथा मृत भ्रुण र आरोपी खत्रीको डीएनए संकलन गरी नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाउने’ तयारी गरेको जनाएको छ।