नयाँ दिल्ली: भारतीय विकेटकीपर-ब्याटर दिनेश कार्तिकले दिग्गज पेस बलर जसप्रीत बुमराहलाई राष्ट्रिय टीमको निम्ति कोहिनूर हीरा बताउँदै उनीमाथि अहिले कप्तानीको अतिरिक्त जिम्मेवारी नथोप्ने परामर्श दिए। बुमराहले यसअघि २०२२-मा एजबेस्टनमा ईंग्ल्याण्डविरुद्ध पाँचौं टेस्ट म्याचमा कार्यवाहक कप्तानको भूमिका निर्वाह गरेका थिए जब नियमित कप्तान रोहित शर्मा कोविड-१९ संक्रमणले बाहिर थिए। उनले गत वर्ष आयरल्याण्डविरुद्ध टी२० सीरीजमा पनि कप्तानी गरेका थिए, जसमा भारत २-०-ले विजयी भएको थियो। कार्तिकले भने, बुमराह शान्त स्वभावका छन् अनि उनमा असल परिपक्कता रहेको छ। उनी एकजना पेस बलर हुन् अनि उनलाई तीनैवटा प्रारूपमा लगातार खेलाउन सकिँदैन। बुमराह जस्ता बलरको निम्ति फिटनेस कायम राख्नु जरूरी हुन्छ। उनलाई केवल महत्त्वपूर्ण म्याचहरूमा खेलाउनु पर्छ। बुमराह भारतीय क्रिकेटको कोहिनूर हीरा हुन्। हामीले उनलाई बचाएर राख्नु पर्नेछ। उनले लामो समयसम्म भारतीय टीमको निम्ति खेलोस् भन्ने सुनिश्चित गर्नु पर्नेछ। यसैकारण उनीमाथि कप्तानीको अतिरिक्त बोझ थपे अनि लगातार सीरीज खेल्न थाले चोट फेरि बल्झिन सक्छ। यस्तो भए ठूलो समस्या हुनेछ। बुमराह जस्तो खेलाड़ीलाई प्रत्येक सीरीजमा नखेलाएर पर्याप्त विश्राम दिनु जरूरी छ। यस्तो गरे उनले महत्त्वपूर्ण म्याचहरूमा सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्नेछन्।