गान्तोक: पूर्व विधायक परिसंघले आज आफ्नो २२औं स्थापना दिवस राजधानीस्थित मनन केन्द्रमा एक कार्यक्रममाझ भव्यताको साथ पालन गऱ्यो।
कार्यक्रममा मुख्य अतिथिको रुपमा मुख्यमन्त्री पीएस तामाङ उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, लोकसभा सांसद, मन्त्रीगण, विधायकगण, पूर्व विधायकहरू, स्वर्गीय पूर्व विधायकहरूका धर्मपत्नीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसआरएम नर्सिङ कलेजले नशामुक्त सिक्किममा आधारित नाटक मञ्चन गऱ्यो। कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीबाट पूर्व विधायक परिसंघले तयार गरेको दुईवटा पुस्तक पूर्वीयालोक अनि जनसंवाद लोकार्पण गरियो। यसरीनै परिसंघले मुख्यमन्त्रीको बाहुलीबाट १९७३ को सिक्किमको प्रजातन्त्रको आन्दोलनमा खटिएका अदृश्य नायकहरूलाई सम्मान जनायो।
योसँगै परिसंघले पाँचौं अनि छैटौं विधानसभाका १३ जना पूर्व विधायकहरूलाई सम्मान जनायो। पूर्व विधायक परिसंघले मुख्यमन्त्री पीएस तामाङलाई शसक्त रुपमा राज्य संचालन साथै नि:स्वार्थ सेवाको निम्ति सम्मान जनायो भने सिक्किम विधानसभा अध्यक्ष मिंग्मा नर्बु शेर्पा अनि उपाध्यक्ष राजकुमारी थापालाई पनि सम्मान जनायो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले परिसंघको स्थापना दिवसको अवसरमा सबैलाई बधाई दिए। यो परिसंघ सबैको साझा मंच रहेकाले कसैले यसलाई राजनीतिक रंग नोपोत्ने उनले सबैलाई आग्रह गरे। १९७५ सिक्किम भारतको अभिन्न अङ्ग बनेदेखिनै सिक्किमलाई निर्माण गर्नको निम्ति आ-आफ्नो पक्षबाट सेवा दिने सबै मुख्यमन्त्रीहरूप्रति आभार व्यक्त गरे। उनले अहिलेसम्म सेवा पुऱ्याउने सबै विधायकहरूको पनि स्मरण गरे।
राजनेताहरूको कामनै जनताको सेवा रहेको हुँदा पदमा हुँदा वा नहुँदा सबैले जनताको निम्ति काम गर्नुपर्ने मुख्यमन्त्रीले आग्रह गरे। योपल्टको चुनाउमा जनताले विजयी बनाएर सुनौलो सिक्किम समृद्ध सिक्किम निर्माण गर्न फेरि जिम्मेवारी दिएकोमा सबैप्रति आभार व्यक्त गरे। प्रतिपक्षीहरूको कारणले गर्दा नै आफूले कटिबद्ध भएर अघि बढ्ने हौसला पाएको भन्दै प्रतिपक्षीहरूलाई आभार व्यक्त गरे। अब आफू सम्पूर्ण सिक्किमको जनताको अभिभावक रहेक हुँदा पक्ष विपक्ष जो कोही आपद विपद परेको समयमा आफूकहाँ आए अवश्य पनि सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
परिसंघको मागलाई पूरा गर्दै वर्तमान सरकारले पूर्व विधायकहरूलाई भूमि प्रदान गरेर अब चाँडै गान्तोकमा पूर्व विधायक आवास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे भने परिसंघको कार्यालय संचालन गर्नको निम्ति प्रतिवर्ष १० लाख रुपियाँ प्रदान गरिरहेको पनि उनले जानकारी गराए। आगामी सप्लीमेन्ट्री बजेटमा पूर्व विधाकहरूको पेन्सन बढोत्तरीको प्रस्ताव ल्याएर पारित गर्ने मुख्यमन्त्रीले जानकारी गराउँदै एकपल्ट कार्यकाल गर्ने विधायकहरूलाई ५० हजार रुपियाँ अनि दुईपल्ट भन्दा अधिक सेवा गर्ने पूर्व विधायकहरूलाई ५५ हजार पेन्स बनाउने बताए।
इण्डिया टुडेको सर्वेक्षणमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको उपाधी प्राप्त गर्न सक्षम बनेकोमा खुशी व्यक्त गर्दै यो केवल सिक्किमे जनताको कारणले नै यो उपाधी प्राप्त गर्न सफल बनेको उनले बताए। उनले आफू मात्र शून्य रहेको र सिक्किमे जनता १ बनेर अघि आउँदा १० बनेर मुल्यवान भएको उनले बताए। यसरी नै अब सिक्किमलाई सुनौलो, समृद्ध, सक्षम अनि नशामुक्त राज्य बनाउन अब सबैले आ-आफ्नो पक्षबाट कार्य गर्ने पनि सबैलाई मुख्यमन्त्रीले आग्रह गरे।