गान्तोक: राष्ट्रिय प्रौद्योगिकी संस्थान सिक्किमले राभाङलामा राष्ट्रिय अन्तरिक्ष दिवससँगै इन्डक्शन कार्यक्रमको आयोजना गऱ्यो। कार्यक्रम नयाँ विद्यार्थीहरूलाई स्वागत जनाउन र शैक्षिक संस्थाहरूबीचको सम्बन्धलाई सुमधुर बनाउन एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख छ। यस कार्यक्रममा सिक्किम सरकारका शिक्षा, कानून र खेलकुद तथा युवा मामिला मन्त्री राजु बस्नेतले मुख्य अतिथिको रूपमा उपस्थित भएर विद्यार्थीहरुलाई नवीनतम कार्यप्रति प्रोत्साहित गरे। कार्यक्रमको अध्यक्षता एनआइटी सिक्किमका निर्देशक प्रो. एमसी गोविलले गरेका थिए। यसमा सहभागीहरूलाई प्रेरित गराउन विभिन्न गतिविधिहरूको शृङ्खला प्रस्तुत गरिएको थियो। सीसीएस युनिभर्सिटी, मेरठका प्रोफेसर सञ्जीव शर्मा र बीएचयूकी प्रोफेसर निधि शर्मा पनि विशेष अतिथिको रूपमा उपस्थित थिए। मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा शिक्षाको गुणस्तर बढाउन र विद्यालय स्तरमा शैक्षिक ढाँचालाई सुदृढ गर्नका लागि एनआईटी सिक्किम जस्ता प्रतिष्ठित संस्थाहरूबीच सहकार्यको आवश्यकतामाथि जोड दिए। उनले नयाँ रूपमा सामेल गरिएको बी.टेकका विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको पढाइमा सफलता तथा सिक्किममा उनीहरूको सुखद प्रवासको कामना गरे। मन्त्रीले खाम्दोङमा एनआइटी सिक्किमको स्थायी क्याम्पस पूरा गर्न राज्य सरकारको प्रतिबद्धतालाई पनि दोहोऱ्याए। सम्बोधनमा प्रा. एमसी गोविलले नयाँ विद्यार्थीहरूको लागि एक मजबुत आधारको महत्त्वलाई जोड दिँदै शैक्षिक वातावरणमा अनुकूल बनाउनमा इन्डक्सन कार्यक्रमको भूमिकामाथि प्रकाश पारे। उनले राष्ट्रिय अन्तरिक्ष दिवसको महत्त्वको बारेमा कुरा गर्दै विद्यार्थीहरूलाई अन्तरिक्ष अन्वेषणमा भारतका उल्लेखनीय उपलब्धिहरूबाट प्रेरणा लिन प्रोत्साहित गरे। उनले प्रौद्योगिकीको क्षेत्रमा आविष्कार र अनुसन्धानको महत्त्वमाथि पनि जोड दिए र विद्यार्थीहरूलाई एनआइटी सिक्किममा आफ्नो शैक्षिक यात्रामा उत्कृष्टता हासिल गर्न आग्रह गरे। यस कार्यक्रममा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिताका साथ भारतको अन्तरिक्ष गाथा विषयवस्तुमा एक प्रोटोटाइप मोडल प्रदर्शनी र पोस्टर प्रस्तुति सामेल थिए। शिक्षा मन्त्री र निर्देशकले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूका नवीन परियोजना र प्रस्तुतिहरूको प्रशंसा गरे। नव प्रवेशित बी.टेकका विद्यार्थीहरूले पनि विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरे, जसले सौहार्द र टीम वर्कको भावनालाई बढावा दियो। कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुति दिइएको थियो।











