विद्यार्थी संगठनको आयोजनामा खरसाङमा भाषा मान्यता दिवस साथै तर्क प्रतियोगिता सम्पन्न

IMG-20240824-WA0228

खरसाङ: अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको आयोजनामा आज खरसाङमा ३३औं नेपाली भाषा मान्यता दिवस साथै विद्यार्थीहरूलाई लिएर तर्क प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सभापति डेविस छेत्रीको अध्यक्षतामा अनि खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

विशिष्ट अतिथिको रूपमा सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, सभासदद्वय श्याम शेर्पा र नवराज छेत्री, सोनादा डिग्री कलेजकी प्राचार्य डा रागिनी थापा, खरसाङ स्कूल सहायक निरीक्षक रोशनी सार्की, अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ केन्द्रीय अध्यक्ष विश्वास गुरुङ, महासचिव विश्वास छेत्री, दार्जिलिङ पोलिटेक्निक कलेज खरसाङका प्राध्यापक अनिल लोहार, सुकना ग्राम पञ्चायतको उप प्रधान लगायत विभिन्न विद्यालयहरूका शिक्षक शिक्षिकाहरू, शिक्षक संगठनको पदाधिकारीहरू र विद्यार्थीहरू उपस्थित रहेका थिए।

अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सचिव दयाराम शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण लेखनाथ गिरीले राखेका थिए। कार्यक्रममा स्वागत नृत्य दार्जिलिङ पोलिटेक्निक कलेजका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली भाषा मान्यता आन्दोलनको विषयमा सागर शर्माले वक्तव्य राखेका थिए। कार्यक्रममा सोनादा डिग्री कलेजकी महिमा राई र दार्जिलिङ पोलिटेक्निक कलेजका अश्विन लिम्बुले कविता वाचन गरेका थिए। यसै कार्यक्रममा केही समय अघि नारद सम्मान पत्रकारिता पुरस्कारद्वारा सम्मानित पत्रकार हनोक थापालाई सम्बर्ध्दना पनि जनाइएको थियो। उनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर साथै शल ओढ़ाएर अनि स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको थियो। यसै कार्यक्रममा तर्क प्रतियोगिता आयोजना गरिएको थियो।

उक्त तर्क प्रतियोगिताको विषय -‘जातीय उत्थानमा जनसंख्याको भूमिका महत्वपूर्ण छ कि छैन’ भन्ने रहेको थियो। यसमा पक्षमा सलेसियन महाविद्यालय सोनादाका विद्यार्थीहरू थिए भने विपक्षमा खरसाङ महाविद्यालयका विद्यार्थीहरू रहेका थिए। यस तर्क प्रतियोगितामा सभापतिको रूपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा उपस्थित रहेका थिए। यस तर्क प्रतियोगिताको निर्णायकको रूपमा सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयकी शिक्षिका मिना लामा राई, सालुगढा हाई स्कूलको शिक्षक सागर शर्मा र युवा स्रष्टा सञ्जीव छेत्री उपस्थित रहेका थिए। त्यसरी नै समय सचेतकको रूपमा शिक्षक दिपेन मुखिया उपस्थित रहेका थिए। यस तर्क प्रतियोगिताको विजेता खरसाङ महाविद्यालय र उप विजेता सलेशियन महाविद्यालय सोनादा भएका छन्। त्यसरी नै उत्कृष्ट तार्किकको रूपमा सोनादाकी अञ्जना राई चयन भइन्। कार्यक्रममा सभापति अनोश थापाले आफ्नो सम्बोधनमा नेपाली भाषा मान्यता दिवस र यसको संघर्ष विषयमा वक्तव्य राखेका थिए। उनले हामीले हाम्रो नानीहरूलाई हाम्रो जाति, भाषा, संस्कृति विषयमा जानकारी गराउन आवश्यक छ भनी बताउँदै जीटीए राज्यभित्रकै दुईवटा जिल्लाभित्र रहेको लोकल सरकार मात्र हो तर हामीले आफ्नो क्षमता अनुसार धेरै कार्य गरिरहेको पनि बताएका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन विवेक भण्डारीले राखेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सचिव दयाराम शर्माले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement