सुत्केरीको मृत्यु भएपछी विराट शिक्षण अस्पतालमा तनाव

IMG-20240824-WA0184

झापा: मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएको छ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-२ की २५ वर्षीया सवना खातुनको मृत्यु भएको अस्पतालले जनाएको छ। खातुनलाई प्रसूतिका लागि गत बिहीबार साँझ भर्ना गरिएको थियो। अस्पतालका अनुसार शुक्रबार दिउँसो भ्याकुमको सहायताले प्रसूति गराइयो।
सवनाले छोरा जन्माएकी थिइन्। तर, आमा र बच्चाको स्वास्थ्य अवस्था बिग्रिएको भनेर शुक्रबार साँझ ५ बजेतिर आईसीयूमा भर्ना गरियो। केहीबेरमै आमाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उपचाररत शिशुको स्वास्थ्यमा भने सुधार हुँदैछ।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्य र आफन्तले होहल्ला र नाराबाजी गर्न थालेपछि अस्पतालको अवस्था तनावपूर्ण बनेको थियो। उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, बच्चाको पालनपोषण गर्नुपर्ने र घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै होहल्ला गरेका हुन्।
घटनाका बारेमा शनिबार छलफल गरेर निष्कर्ष निकाल्ने सहमति मृतक पक्ष र अस्पताल प्रशासनबीच भएपछि भीड तितरबितर भएको थियो। शनिबार बिहानैबाट अस्पतालमा ५०/६० जनाको संख्यामा मृतकका आफन्त भेला भएका छन्। उनीहरुले दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन्। सुत्केरीको शवलाई अस्पतालकै शवगृहमा राखिएको छ।
अस्पतालमा तोडफोड हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मुख्य गेट बन्द गरिएको छ। मुख्य गेटमा ताला लगाएर आवतजावतमा रोक लगाइएको हो। भेला भएकाहरुले बाहिरैबाट नाराबाजी गरिरहेका छन्।

About Author

Advertisement