मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) भारतको सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

photocollage_202482323534148

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) आफ्नो गृहराज्यभित्र भारतको सबैभन्दा लोकप्रिय मुख्यमन्त्री चुनिएका छन्। इण्डिया टुडे मूड अफ् द नेशन २०२४ सर्वेमा यस्तो परिणाम अघि आएको हो। मुख्यमन्त्री तामाङले ५५.७ प्रतिशत उत्कृष्ट लोकप्रियता रेटिङका साथ देशमै शीर्ष स्थान हासिल गरेका छन्। उक्त जानकारी सिक्किम क्रान्तकारी मोर्चाले आज जारी प्रेस विज्ञप्तिमा दिएको छ।

​विज्ञप्ति अनुसार, मुख्यमन्त्री तामाङले ५५.७ प्रतिशत उत्कृष्ट लोकप्रियता रेटिङका साथ प्रथम स्थान प्राप्त गरेका छन्। दोस्रो स्थानमा असममा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा छन्, जसले ५०.८ प्रतिशत प्राप्त गरेका छन्। यसरी नै तेस्रो स्थानमा गुजरातका मुख्यमन्त्री भूपेन्द्रभाई पटेल छन्, जसले ४६ प्रतिशत उत्कृष्ट लोकप्रियता रेटिङ हासिल गरेका छन्।

एसकेएम पार्टीले राज्यका मुख्यमन्त्रीलाई आफ्नो गृहराज्यमा लोकप्रियताको हिसाबले देशमै शीर्ष स्थानमा उभिएको देख्न पाउनु ठूलो आनन्दको विषय रहेको बताएको छ। सिक्किमका जनतासॅंग उनको गहिरो सम्बन्धकै परिणाम स्वरूप यो उपलब्धि हासिल भएको एसकेएमले ठहर गरेको छ। उनको लोकप्रियताकै कारण राज्यमा हालैमा सम्पन्न भएको चुनाउमा एसकेएम पार्टी ऐतिहासिक विजय हासिल गर्न जनताको विश्वास र समर्थन प्राप्त गर्न सफल बनेको बताइएको छ।

मुख्यमन्त्री गोलेलाई तृणमूल स्तरमा व्यापक रूपमा मन पराइन्छ र यो सर्वेक्षणले उनको अतुलनीय लोकप्रियतालाई पुष्टि गर्दछ भनी एसकेएमले बताएको छ। यस उल्लेखनीय उपलब्धिका लागि एसकेएम मुख्यमन्त्री तामाङलाई बधाई पनि दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement