सांसद राजु विष्टले पनि गरे मुख्यमन्त्री तामाङको प्रशंसा

IMG-20240823-WA0292

गान्तोक: नेपाली भाषामा पनि राज्य सरकारका सबै अधिसूचना र राजपत्र प्रकाशन गरिने घोषणा अनि २४ घण्टा नबित्दै त्यसको कार्यान्वयनलाई लिएर अहिले मुख्यमन्त्री प्रेमसिंह तामाङको चौतर्फी प्रशंसा भइरहेको छ। यसरी मुख्यमन्त्रीको प्रशंसा गर्नेहरूमा दार्जीलिङका लोकसभा सांसद राजु विष्ट पनि सामेल भएका छन्। उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री तामाङको प्रशंसा गर्दै बधाई दिएका छन्। सासंद विष्टले मुख्यमन्त्री तामाङ र सिक्किम सरकारको यस पहललाई विश्वभरि छरिएर बसेका नेपाली भाषीहरूका लागि एक गौरवको विषय बताएका छन्। यो सोच अनि साहसको लागि मुख्यमन्त्री प्रेमसिंह तामाङ बधाई र प्रशंसाको पात्र हुनुहुन्छ, उनले भनेका छन्।
उल्लेखनीय छ, गत २० अगस्तको दिन गान्तोकमा नेपाली भाषा मान्यता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्य सरकारका अधिसूचना र राजपत्रहरू अङ्ग्रेजीसँगै नेपाली भाषामा पनि प्रकाशन गरिने घोषणा गरेका थिए। त्यसको लगतै भोलिपल्ट राज्य सरकारको गृह विभागले नेपाली भाषामा एउटा अधिसूचना जारी गरेको थियो जसमा अबउसो सबै अधिसूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशित गरिने आधिकारिक घोषणा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement