गान्तोक: सिक्किम सरकारको पशुपालन एवं पशु चिकित्सा विभागका सचिव डा. शरमन राईले आज नयाँ दिल्लीमा सम्पन्न पूर्वोत्तर राज्यहरूको समीक्षा बैठकमा सहभागिता जनाए। बैठकमा भारत सरकारको पशुपालन एवं डेयरी विभागका सचिव श्रीमती अलका उपाध्याय, अतिरिक्त सचिव श्रीमती वर्षा ज्योति र पशुपालन आयुक्त डा. अविजीत मित्रको पनि विशेष उपस्थिति रहेको थियो।
बैठकमा पूर्वोत्तर राज्यहरूद्वारा केन्द्र सरकारसमक्ष राखिएका प्रस्तावहरूमाथि विस्तृत रुपमा चर्चा गरियो। यसै क्रममा सिक्किम सरकारको प्रस्तावमाथि पनि चर्चा भएको र भारत सरकारले प्रस्तावित धनराशि आवण्टन गर्ने आश्वासन दिएको राज्य सरकारको सूचना एवं जनसम्पर्क विभागद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ। आजको बैठकमा सचिव डा. शरमन राईसहित अधिकारीहरूको एउटा टोली सहभागी बनेको थियो।









