झापा: सुनसरी जिल्लाको धरानबाट प्रहरीले १४ सय केजी गाँजा बरामद गरेको छ। धरान १३ स्थित सारङ्बाट प्रहरीले १४ क्वीन्टल गाँजा बरामद गरेको हो। १ क्वीन्टलमा एक सय किलोग्राम हुन्छ।
यससँगै लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई रहेका छन्।
सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो। ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ। उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक गरी ट्रकमा लोड गरेर गाँजा ल्याइएको थियो।
ट्रकबाट एक हजार चार सय २० किलोग्राम गाँजा बरामद भएको एसपी रेग्मीले जानकारी दिए।उनीहरूले ट्रकमा मुला ओसारपसार गरेजस्तो देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ। गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ। उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ।