झापा: नेपाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। अगष्ट २१ तारिख मन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका छन्।
मन्त्रीस्तरमा भएको सो निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस भएको सञ्चार मन्त्रालयले जानकारी दिएको छ। ‘टिकट प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा मन्त्री गुरुङले हस्ताक्षर गरेर क्याबिनेटमा डिसिजनका लागि पठाएको छ,’ स्रोतले भन्यो, ‘अब बिहीबारको क्याबिनेटले पारित गरेको हो।’
बिहीबार क्याबिनेटले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको एप टिकटक सहज रुपमा चलेको हो। क्याबिनेट निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेखेको छ।
लगत्तै, बिहीबारबाटै टिकटक चलेको सञ्चार मन्त्रालय निकट स्रोतले जानकारी दियो।
गत अक्टूबर १३मा नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दैतत्कालीन पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको भन्दै प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारको तर्क थियो।
यसअघिकी सञ्चारमन्त्री रेखा शर्माले जारी गरेको सामाजिक सञ्जाल निर्देशिकाले नेपालको कानुन मानेर आउने जुनसुकै प्लेटफर्म पनि सञ्चालन हुन पाउने उल्लेख थियो।
२०२३ जनबरी – फरबरीदेखि टिकटकले उच्च तहका अधिकारीलाई नेपाल भ्रमणमा पठाएरै प्रतिबन्ध खुलाउन प्रयास गरेको थियो। दस जनाभन्दा बढी टिकटकका प्रतिनिधिले राजनीतिक भेटवार्ता गर्दै निरन्तर ताकिता गरेको थियो। तत्कालीन सञ्चारमन्त्री रेखा शर्मासँग पटकपटक भेट गरे। तर, प्रचण्ड सरकार रहुञ्जेल प्रतिबन्ध हट्न सकेको थिएन।
सरकारले प्रतिबन्ध लगाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १४ वटा दायर भएका थिए। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले नोवेम्बर २१मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’ भन्दै सरकारी निर्णय कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।