गान्तोक: सिक्किम सरकारले अबदेखि आफ्ना सबै आधिकारिक अधिसूचना र राजपत्रहरू अङ्ग्रेजी भाषाका साथै नेपाली भाषामा पनि प्रकाशित गर्ने घोषणा गरेको छ। सिक्किम सरकारको मुख्य सचिव वीबी पाठकद्वारा आज जारी गरिएको एक अधिसूचनामा उक्त जानकारी दिइएको छ।
स्मरण रहोस्, मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो मात्र सम्पन्न भएको नेपाली भाषा मान्यता दिवस समारोहमा सिक्किम सरकारले आफ्ना सबै आधिकारिक अधिसूचना र राजपत्रहरू अङ्ग्रेजी भाषाका साथै नेपाली भाषामा पनि प्रकाशित गर्ने घोषणा गरेको थियो। मुख्यमन्त्रीले आफ्नो घोषणालाई एक दिन पछि नै कार्यरूपमा उतार्ने काम गरेका छन्।
यस सन्दर्भमा मुख्य सचिव पाठकद्वारा आज जारी गरिएको अधिसूचना पनि अङ्ग्रेजीका साथै नेपाली भाषामा प्रकाशित गरिएको छ। अधिसूचनामा भनिएको छ, सिक्किम आधिकारिक भाषा अधिनियम, १९९७ ले नेपाली भाषालाई राज्यको एउटा आधिकारिक भाषाको रूपमा मान्यता दिएको छ। भारतको संविधानले २० अगस्त, १९९२ मा नेपाली भाषालाई आठौं अनुसूचीमा अन्तर्भुक्त गर्दै यसको प्रवर्द्धन र विकासमाथि बल दिएको छ।