नेपाल र चीनबीचका गोरखाका उत्तरी नाकाबाट व्यापार तथा आवतजावत खुल्यो

IMG-20240821-WA0196

झापा: कोभिड महामारीका समयदेखि बन्द भएका नेपाल र चीनबीचका उत्तरी सीमा नाका गोरखाका दुई नाका खुलेका छन्। चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाका र वडा नम्बर १ को रुइला नाका छोटो समयका लागि खुला भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
‘दुवै नाका खुलेको औपचारिक रूपमा जानकारीप्राप्त भएको छ, ङुइला नाका मंगलबार र रुइला नाका बुधबारबाट खुला भएको हो,’ उनले भने। कोभिड महामारीको कारण देखाएर बन्द भएका नाका ५ वर्षपछि खुलेका छन्।
सीमा क्षेत्रका जनप्रतिनिधिमार्फत नाका खुला भएको जानकारी आएको हो। ‘गाउँपालिकाले पनि बारम्बार नाका खुलाउन पहल गरिरहेको थियो, अहिले छोटो समयका लागि नाका खुला भएको छ,’ उनले भने। सीमा नजिकैको चीनतर्फका जनप्रतिनिधिले सोमबार वडा नम्बर ७ का वडाध्यक्ष टसी दोर्जे लामालाई टेलिफोन गरी नाका खुल्ने जानकारी गराएका थिए। अगस्त २०देखि एक महिना नाका खुला हुने जानकारी आएको हो,’ वडाध्यक्ष लामाले भने। कोभिडअघिसम्म ङुइला नाका बाह्रै महिना खुला हुँदै आएको थियो।
नाका खुला सम्बन्धमा दुवैतर्फका जनप्रतिनिधिले गत मईमा छलफल पनि गरेको थियो। अहिले चिनियाँ पक्षले स्या गाउँसम्म मात्र आउन भनेका छन्। ‘स्यासम्म घोडा मात्र लिएर आउन भनेका छन्,’ टासीले भने। यसअघि याक र चौंरीमार्फत पनि यस क्षेत्रका स्थानीयवासीले चिनियाँ बजारबाट उपभोग्य सामग्री ढुवानी गर्दै आएका थिए। याक र चौरीका लागि भने खुला गरिएको छैन। नाका खुला हुने सूचना आएपछि जनप्रतिनिधि र कटुवालमार्फत गाउँमा खबर पुर्‍याएको पनि उनले बताए।
‘नेपाली नागरिकता र सीमा पास दुवै लिएर जान भनेका छौं,’ उनले भने, ‘नाका खुलेको सूचना आएपछि गाउँमा सबैलाई भनिसक्यौं।’ छेकम्पार नजिकैको स्या गाउँ सीमा नाकाबाट एकदेखि डेढ घण्टाको पैदल दूरीमा पुगिन्छ। नाका खुलेसँगै यहाँका स्थानीय उपभोग्य सामग्री ढुवानीमा सहज हुने भन्दै खुसी भएका छन्। कोभिड महामारी सुरु भएसँगै २०१९ जनबरीबाट उत्तरी क्षेत्रको नाका चीन सरकारले एकतर्फी रूपमा बन्द गरेको थियो।
छेकम्पारतर्फको ङुइला नाका मंगलबारबाट एक महिना र साम्दो तर्फको रुइला नाका बुधबारबाट १५ दिन खुल्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए। औपचारिक पत्र आएको होइन, स्थानीय जनप्रतिनिधिमार्फत नाका खुला हुने भन्ने जानकारी आएको छ,’ उनले भने।
नाका नखुल्दा यहाँका स्थानीयले लागतको तेब्बर ढुवानी मूल्य तिरेर गोरखाकै तल्लो क्षेत्रको आरुघाट, आर्खेत लगायतका बजारबाट उपभोग्य सामग्री गाउँ पुर्‍याउँथे। गोरखाको तल्लो बजारबाट खच्चडमार्फत उपभोग्य सामग्री पुर्‍याउन तीनदेखि चार दिनसम्म लाग्ने गर्छ। खच्चडको ढुवानी भाडा चर्को तिर्दै आएका स्थानीय तिब्बती बजारबाट उपभोग्य सामग्री ल्याउन दूरी कम पर्दा ढुवानी मूल्य घट्ने बताउँछन्। नाका खुलेको सूचना पाएसँगै यस क्षेत्रका स्थानीय उपभोग्य सामग्री ढुवानीका लागि तिब्बतको बजारसम्म जाने तयारीमा लागेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement