मिरिक: गाेपाल याेञ्जन प्रतिष्ठान मिरिकको सभा प्रतिष्ठानको अध्यक्ष सुकबहादुर गजमेरको अध्यक्षतामा सभा सम्पन्न भएको छ। उक्त सभामा आगमी २६ अगस्त २०२४ को दिन सम्पन्न हुने वाग्येकार गोपाल योञ्जन जन्मोत्सव-२०२४ अन्तर्गत मिरिक महकुमा स्तरीय अन्तर विद्यालय गोपाल गायन प्रतियोगिता, नागरिक अभिनन्दन आदि कार्यक्रमको तयारीमाथि विस्तृत छलफल गरिएको छ। सभा अघि भाषा मान्यताको संग्रामका दिवंगत भाषा संग्रामीहरुको स्मरण गर्दै श्रद्धाञ्जली स्वरूप एक मिनटको मौनधारणपछि भाषा संग्रामी सुकबहादुर गजमेरलाई प्रतिष्ठानको सम्पूर्ण सदस्यहरुको पक्षमा राजबहादुर राईको बाहुलीबाट खदा लगाएर अभिनन्दन जनाइयो। यस अवसरमा अभिनन्दित अध्यक्ष सुकबहादुर गजमेरद्वारा भाषा संग्रामका घटनाको जानकारी गराए। यसपछि प्रतिष्ठानको सभा विधिवत प्रारम्भ गर्दै सचिव केसाङ लामाद्वारा हालसम्म गरिएको कार्य विवरण पेश गरियो। सहयोगको निवेदनसहित निमन्त्रण पत्रहरु वितरण भई सकेको, केही सहयोग पनि पाइरहेको, प्रतिष्ठानको सदस्यहरुबाट सदस्यता नवीनीकरण शुल्क र सहयोग पाइरहेको जानकारी राखियो।

प्रतियोगिताको नगद पुरस्कारहरुमा प्रथम पुरस्कार राशि प्रतिष्ठानको वरिष्ठ सल्लाहकार भुपेन्द्र सुब्बाले प्रदान गर्ने घोषणा गरे। यसको साथै ट्रफी कुशल राई (सौरेनी) ले आफ्ना दिवंगत पिता पाश्चात्य संगीत शिक्षक अशोक सरको स्मृतिमा दिने भएको छ। यसरी नै दोस्रो नगद पुरस्कार र ट्रफी आफ्ना दिवंगत दाजु गायक संगीतकार गीतकार खेम सुब्बा (नागरी फार्म) को स्मृतिमा हेमा लामा अनि समीर सुब्बाले प्रदान गर्ने अनि तेस्रो नगद पुरस्कार र ट्रफी अरुणचन्द्र कुलुङले प्रदान गर्ने अनि शीर्ष आठका अन्य पाँच प्रतियोगिहरुलाई पनि नगद पुरस्कारहरु दिने ज्योति भूषण तामाङ अनि सत्येन वरदेवाले घोषणा गरेका छन्। दोस्रो चरणसम्म पुगेका अन्य प्रतियोगीहरुलाई स्मृति चिनो प्रतिष्ठानको वरिष्ठ सदस्य शर्मिला राईले प्रदान गर्ने घोषणा गरेपछि सहयोगीहरुमा आभारसहित करतल ध्वनिले अभिनन्दन जनाइयो।

उक्त कार्यक्रममा गीतकार अरुण चन्द्र कुलुङद्वारा लिखित अनि आनन्द राईद्वारा संगीतबद्ध गीतको लोकार्पण हुने अनि तीन गौरवहरुमा नागरिक अभिनन्दन, वार्ता औ स्थानीय कलाकारहरुको प्रस्तुति रहने निधो भएको प्रतिष्ठानको मूल सचिव केसाङ लामाले जानकारी गराएका छन्।