सोनादा: सोनादा डिग्री कलेज र सोनादा साहित्य संस्थानको संयुक्त तत्वावधानमा कलेजको प्रेक्षागृहमा ३२औं नेपाली भाषा मान्यता दिवस समारोह संस्थानका अध्यक्ष जोगेन दर्नालको अध्यक्षतामा सम्पन्न भयो। समारोहमा नेपाली भाषाको संवैधानिक मान्यताको निम्ति गरिएको दीर्घ दिनको आन्दोलनको इतिहासलाई पनि स्मरण गर्दै संवैधानिक मान्यतापछि प्राप्त गरिएका सहुलियतहरू बारेमा कलेजका शिक्षक प्रभारी डा रागिनी थापाले आफ्नो वार्तामा सविस्तार जानकारी दिएकी थिइन्। समारोहमा सोनादा डिग्री कलेजका उप प्राध्यापक मेघनाथ छेत्रीकृत पाँच कृति – कृति पठन, मन, भालो बन्धुको सम्झनामा, कृति अध्ययन र विविध अध्ययन पनि समारोहका अध्यक्ष एवम् अतिथिहरूद्वारा अवलोकन गरेका थिए। समारोहमा सोनादा डिग्री कलेजबाट नेपाली सम्मानमा सर्वोच्च अङ्क हाँसिल गर्ने अनुमा शर्मालाई प्रा मेघनाथ छेत्रीद्वारा आफ्ना पिताको स्मृतिमा प्रयोजित स्व रामबहादुर छेत्री स्मृति नेपाली भाषा मेधावी पुरस्कार पनि प्रदान गरेका थिए। प्रशस्ति पत्र प्रा पर्वत रसाईलीले पठन गरेका थिए। समारोह अध्यक्ष जोगेन दर्नालले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई शुद्ध हिज्जे लेखनमा ध्यान दिने आह्वान गर्दै भाषिक शुद्धताको लागि व्याकरणगत नियमहरूलाई पनि चार्टमा अङ्कित गरि सम्झाएका थिए। उनले नेपाली भाषा मान्यताका आन्दोलनका प्रसङ्गहरू बारेमा पनि चर्चा गरेका थिए। अम्बर सुब्बा, जे.के.राई, देवकुमार प्रधान, एसआर मोक्तान, थिलेन लामा, रेखा तामाङ, अञ्जु तामाङ, बबेन्द्र राई, प्रा. पेञ्चुला भोटिया, सोनाम छिरिङ, रामराज राई, सुमन बम्जन, रसिक छेत्री, राजेन छेत्री आदि लगायत सोनादा साहित्य संस्थान एवम् विभिन्न संघ- संस्थाका पदाधिकारीहरू, सदस्य- सदस्यागण, पञ्चायतका प्रतिनिधिहरू, सोनादा डिग्री कलेजका सम्पूर्ण शिक्षण- अशिक्षणकर्मी र विद्यार्थीहरू लगायत विभिन्न स्कूलका शिक्षक- शिक्षिका र विद्यार्थीहरू उपस्थित रहेका थिए। अध्यक्ष एवम् अतिथिहरूद्वारा दीप प्रज्वलन भई शुआरम्भ भएको समारोहमा संस्थानका सचिव नरेश कटुवालले स्वागत वक्तव्य दिएका थिए। आफ्नो वक्तव्यमा उनले संस्थान र सोनादा डिग्री कलेजको संयुक्त आयोजनामा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा भाषा साहित्यको लागि संस्थान र डिग्री कलेजसित मिलेर धेरै कार्यहरू गर्ने योजना रहेको कुरो बताए।

समारोहमा दिपशिखा मगर (मुण्डाकोठी), अभिमन्यू भण्डारी (सन्त पिटर्स), कृति छेत्री (सोनादा हाई स्कूल), रोहन राई (शान्तिरानी), प्रशान्ती मुखिया(एमएसके), होलीक्रस स्कूल लगायत सोनादा डिग्री कलेजका नियाता तामाङ, महिमा राई र श्रेया गुरूङ आदि विद्यार्थीहरू लगायत संस्थानका भीम क्षमित, सोनाम छिरीङ, मीना ढुङ्गेल, केके मुखिया आदिले स्वरचित कविता पाठ गरेका थिए। समारोहलाई बुद्ध राईले सञ्चालन गरेका थिए भने प्रा अनिलकुमार विश्वकर्माले धन्यवाद यापन गरेका थिए।