झापा: संसारबाटै लोप हुन लागेको संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति पूर्वी नेपालमा भेटिएको छ।
कोशी नदीमा भेटिएको र आसपासका नदीहरुमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि खुलेको छ। क्याटफिस समूहमा पर्ने एम्ब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण संघ (आयुसिएन)ले संसारबाटै संकटापन्नको सूचीमा राखेको छ जसको तत्काल संरक्षण नगरे लोप हुने चेतावनी दिइएको छ। अनुसन्धानकर्ताहरुका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा पनि पाइने पुष्टि भएको छ।
अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा पत्ता लगाएका हुन। यी पाँच नेपालीसहित तीन चिनीया अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा एक लेख प्रकाशित भएको छ।
अनुसन्धानकर्ता मध्येका एक लिम्बूले भने- ‘माछाको सर्वेक्षण गर्ने क्रममा हामीले सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीहरुबाट नमुना संकलन गर्यौँ। सो क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो। यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट प्रष्ट भयो कि नेपालको लागि नयाँ र संसारबाटै लोप हुन लागेको प्रजाति रहेछ।’
उनीहरुले तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीहरुमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमुना संकलन गरेका थिए। जसमा यो एउटा संकटापन्न प्रजाति पनि भेटियो । अर्का अनुसन्धानकर्ता अधिकारीले भने- ‘यस क्रममा २९ वटा प्रजातिको पञ्जीकरण गरियो त्यसमा अर्को एउटा प्रजाति पनि नेपालका लागि नयाँ भएको पाइयो।’ नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टोइडिस् सिकुला हो र यो पनि कोशी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो। यो चाहिँ नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको हो।
उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्याङ्क अभाव’ भएको सूचीमा राखेको छ। तर, यी दुबै माछा कोशी नदीमा प्रसस्त पाइने र स्थानीय व्यवसायीहरुले दोहन गरिरहेको अवस्था रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्। लिम्बूले भने–‘यस्तो दुर्लभ जैविक निधिलाई करेन्ट लगाएर मार्ने र माछा मारी बेच्नेहरु एउटैले चार÷पाँच किलोग्रामसम्म बेचेको पाइयो।’ यी दुबै माछा खानका लागि साह्रै लोकप्रिय मानिन्छन्।
अनुसन्धानकर्ता अधिकारीका अनुसार धरतीबाटै लोपन्मुख प्रजाति नेपालमा प्रसस्त संख्यामा पाइनु अति खुशी र भाग्यको कुरा हो, यसलाई संरक्षण गरेर राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु पर्छ।’ यसप्रति चासो दिने जोसुकैले कि नेपाल या भारत आउनै पर्छ, अन्त पाइदैन। अब एम्ब्लिसेप्स जातिका तीन प्रजाति नेपालमा पाइने पुष्टि भएको छ। ती हुन्: मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी। अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो तर यो खोजले नयाँ हो भन्ने प्रमाणित गरेको छ। लिम्बूको भनाइमा दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्र्रजातिहरुहरुको पहिचानमा त्रुटि भेटिएकोले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको छ।
एक तथ्याङ्कअनुसार नेपालमा पाइने माछाहरु मध्ये यसअघिसम्म तीन वटा प्रजाति अति संकटापन्न र शहर माछा चाहिँ संकटापन्नको सूचीमा थियो। अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि संकटापन्नको सूचीमा थपिएको खोजकर्ताहरुले दाबी गरेका छन्। खोजकर्ताको उक्त टोलीले दुई वर्षमा मुलुकको पूर्वी भेगबाट माछाका यी दुईसहित छ वटा प्रजाति नेपालका लागि नयाँ प्रजाति पत्ता लगाई तथ्याङ्क जोडेको छ।