नेपाली भाषाको प्रचार-प्रसार र प्रयोगको क्षेत्रमा काम गरिरहेका जम्मै नेपालीभाषीहरूलाई बधाई, शुभकामना अनि अभिनन्दन: पवन चामलिङ

IMG-20240821-WA0001

गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता प्राप्त गरेको ३३औं वर्षगाँठको अवसरमा भाषा मान्यताको निम्ति अनवरत सङ्घर्ष गर्ने समस्त जीवित एवं दिवङ्गत भाषासङ्ग्रामी पुस्ताहरूप्रति हार्दिक कृतज्ञता एवं अभिवादन व्यक्त गरेका छन्।
उनले आज जारी आफ्नो सन्देशमा ती समस्त भाषाप्रेमी, भाषाशिल्पी अनि अग्रिम पंक्तिमा रहेर नेपाली भाषाको प्रचार-प्रसार र प्रयोगको क्षेत्रमा काम गरिरहेका जम्मै नेपालीभाषीहरूलाई बधाई, शुभकामना अनि अभिनन्दन जनाएका छन्।
उनले भनेका छन्, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र अनि विस्तृत संविधान भएको भारतीय संविधानद्वारा एक विकसित भाषाको रूपमा नेपाली भाषालाई मान्यता प्राप्त हुनु आफैमा एउटा अत्यन्त गौरवपूर्ण परिघटना हो। उनले नेपाली भाषामा बोलेर, लेखेर, सोचेर, चिन्तन गरेर अनि यसको आयामलाई विस्तार गरेरै मात्र भाषाको सुरक्षा, विकास र व्यापकता सम्भव हुनेहुनाले भाषिक कर्ममा रत् समस्त नेपालीभाषीहरूप्रति कृतज्ञता जनाउनु उपयुक्त हुन्छ भनी बताएका छन्।
उनले अघि भनेका छन्, ‘प्रख्यात नाटककार एवं चिन्तक बालकृष्ण समले अत्यन्त उपयुक्त ढङ्गमा ‘भाषा’ लाई ‘सभ्यता’ बताउँदै यसमै समस्त जातिको उदय, उन्नति, जीत र वैभव बाँच्दछ भन्नुभएको छ। हजारौं वर्ष लगाएर हामीले आर्जेको आजको विकसित नेपाली भाषाले हाम्रो विशिष्ट सभ्यताको पनि निर्माण गरेको छ। नेपाली सभ्यतालाई जीवन्त राख्नु हो भने हामीले हाम्रो भाषालाई जीवन्त, व्यापक अनि संसारका जम्मै वस्तु अनि भावहरूलाई सम्प्रेषण गर्नसक्ने सशक्त माध्यम बनाउनुपर्नेछ। बजारवाद, भाषिक अतिक्रमण, जनसाङ्ख्यिकीमा सुनियोजित परिवर्तनको माध्यमले विकासशील भाषाहरूलाई क्रमशः विलुप्तितर्फ घचेटिँदैगरेको समकालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा नेपाली भाषालाई बचाउनु, व्यापकता दिनु, गहिराई प्रदान गरिनु अनिवार्य देखिन्छ।
पूर्व मुख्यमन्त्रीले भने, ‘महात्मा गान्धीले भन्नुभएको छन्: विदेशी भाषा सिक्नु नराम्रो होइन, तर आफ्नो भाषा सर्वोपरी हो।' सोहीपरी, जीवन सङ्घर्षको क्रममा हामीले अन्य भाषालाई अप्नाउनुपरे पनि आफ्नो भाषाको महत्तालाई कदापि कम गर्नसक्दैनौं। भाषावैज्ञानिकहरू भन्दछन्-भाषाले मानिसको जातीय, सांस्कृतिक व्यक्तित्वलाई झल्काउँदछ।’ अन्य भाषालाई अप्नाउँदा, ती भाषामा बोल्दा हामीले त्यो भाषाको जातीयता र व्यक्तित्वलाई अभिव्यक्त गरिरहेका हुन्छौं। त्यसैले नेपाली भाषालाई अप्नाउँदा, प्रयोग गर्दा हामी हाम्रो जातीयता, संस्कृति र सभ्यतालाई झल्काइरहेका हुन्छौं।
उनले ३३औं नेपाली भाषा मान्यता दिवसको अवसरमा नेपाली भाषाको प्रयोगलाई तीव्रता र व्यापकता प्रदान गरौं अनि तीव्र गतिमा परिवर्तनशील दुनियाँमा नेपाली भाषालाई प्रासङ्गिक र सार्थक बनाइराख्न यसको प्रयोगलाई प्राथमिकता र व्यापकता प्रदान गरौं भनी आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement