गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले नेपाली भाषा दिवसको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ। नेपाली भाषा दिवसले हामीलाई हाम्रो मातृभाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्न, संवर्धन गर्न र सम्मान गर्न प्रेरित गर्दछ भनी क्यापले आज जारी प्रेस विज्ञप्तिमा बताएको छ।
क्यापले भनेको छ, ‘यो दिवस नेपाली भाषालाई राष्ट्रिय मान्यता दिइएको ऐतिहासिक दिनको सम्झना हो, जसले हाम्रो भाषा र सभ्यतालाई संरक्षण गर्ने हाम्रो दायित्वलाई पुनः जागृत गराउँछ। नेपाली भाषा, सिक्किमको मुख्य सम्पर्क भाषा मात्र नभएर, हामी सबैको एकता र विविधताको प्रतीक हो। यस दिनले हामीलाई हाम्रो सांस्कृतिक धरोहर र हाम्रो पहिचानलाई बचाउनका लागि जागरुक हुन प्रेरणा दिन्छ। नेपाली भाषा सिक्किमको मात्र नभई सम्पूर्ण भारतीय उपमहाद्वीपको महत्वपूर्ण भाषा हो र यसले हामीलाई हाम्रो सांस्कृतिक सम्पदा जोगाइराख्न मद्दत गर्दछ।’
क्यापले अझ भनेको छ, ‘नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचिमा मान्यता दिलाउन योगदान पुऱ्याउने दुई महान व्यक्तित्वहरू श्रीमती दिलकुमारी भण्डारी (पूर्व सांसद) र स्व. नरबहादुर भण्डारी (पूर्व मुख्यमन्त्री, सिक्किम) लाई यस अवसरमा विशेषरूपमा स्मरण गर्न चाहन्छौं। यी दुवै महान नेताहरूको अथक प्रयास र नेतृत्वको कारणले नेपाली भाषा भारतको आठौं अनुसूचिमा सन् १९९२ मा मान्यता प्राप्त भएको थियो। नेपाली भाषालाई यो मान्यता दिलाउनु भनेको सम्पूर्ण नेपाली भाषी समुदायको सम्मान, पहिचान र अधिकारको सुनिश्चितता थियो।’
क्यापले यस विशेष अवसरलाई अझ अर्थपूर्ण बनाउ, पार्टीको सम्पूर्ण आधिकारिक सञ्चार नेपाली, सिक्किमे भोटिया, लेप्चा, राई, लिम्बू, तामाङ, नेवारी, गुरुङ, शेर्पा, मगर र मुखिया भाषाहरूमा सञ्चालन गरिने बताएको छ। यो कदमले सिक्किमको भाषिक र सांस्कृतिक विविधतालाई सम्मान गर्ने र सबै जातीय समुदायहरूलाई एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख छ।










