सङ्गीतकार बसन्त छेत्री कञ्चनजंगा मित्रसेन पुरस्कारले सम्मानित

IMG-20240820-WA0324

गान्तोक: गान्तोकस्थित मनन केन्द्रमा आज ३३औं नेपाली भाषा मान्यता दिवस भव्यरूपमा पालन गरियो। नेपाली साहित्य परिषदको पहलमा आयोजित यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली भाषाको उत्तरोत्तर प्रगति हुनुपर्छ भन्दै एसकेएम पार्टी सरकारमा आउनेबित्तिकै २० अगस्त नेपाली भाषा दिवसलाई सरकारी विदाको घोषणा गरी यो दिनमा सबै स्कूल, विद्यालय, महाविद्यालयहरूमा भाषालाई लिएर चर्चा गरिने अवसर मिलाइएको बताए। उनले आजको दिनमा पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भणडारी, पूर्व सांसद दिलकुमारी भण्डारीको भाषाप्रतिको अथक योगदानको सम्झना गरे। भाषा मान्यताको लागि पूर्व मुख्यमन्त्री भण्डारी अनि पूर्व सांसद दिलुकमारी भण्डारीको अतुल्य योगदानको मुग्ध कण्ठले प्रशंसा गर्दै सम्झना गरे। तर भण्डारीपछिको पूर्व सरकारले स्वर्गीय भण्डारीको भाषामोहलाई भुलेको पनि अवगत गराउँदै तर एसकेएम पार्टी सरकारमा आउनसाथै नेपाली भाषा दिवसलाई सरकारी विदा घोषित गरेको स्मरण गराए। समारोहमा मुख्यमन्त्री तामाङले थुप्रै घोषणा पनि गरे। नेपाली साहित्य परिषद सञ्चालनको निम्ति मुख्यमन्त्री विवेकाधीन कोषबाट वर्षेनी दश लाख रूपियाँ दिने घोषणा गरे। विद्यार्थीहरूलाई नेपालीभाषाप्रति आकर्षित गराउन तथा भाषाप्रति सजग बनाउन नेपाली शब्दकोश प्रदान गरिने विषयलाई लिएर मुख्यमन्त्रीले मन्त्री राजु बस्नेतलाई यसबारे पहल गर्ने निर्देश दिए। यसरी नै अबोप्रान्त सरकारी अधिसूचना साथै आदेश पनि नेपाली भाषामा नै जारी गरिने बताए। आगामी वर्ष २०२५ मा नेपाली भाषा मान्यता दिवस खूबै धुमधामले मनाउने आग्रह गरे। सिक्किम, देशको बाइसौं राज्य बनेको आगामी वर्ष २०२५ मा ५० वर्ष पूरा हुने भएकोले यो वर्ष भाषा दिवस पनि विद्यार्थी तथा साहित्यका सबै सबैलाई भेला गरेर भव्यतासँग मनाउने आग्रह गरे।
आजको समारोहमा सङ्गीतकार बसन्त छेत्रीलाई कञ्चनजंगा मित्रसेन पुरस्कारले सम्मानित गरियो। बसन्त छेत्री नेपाली सङ्गीत जगतका एक अभिभावक मानिन्छन्। सत्तरको दशकदेखि उनका गीतहरू धेरै लोकप्रिय छन्। समारोहमा बसन्त छेत्रीद्वारा अभिनित तथा सङ्गीतबद्ध गीतहरू गाइयो। समारोहमा सिक्किम युनिवर्सिटीको स्नातकोत्तर परीक्षामा सर्वाधिक अङ्क ल्याउने विद्यार्थी केशव दाहाललाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कार २०२३ ले सम्मानित गरियो। समारोहमा नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष हरि ढुङ्गेलले स्वागत सम्बोधन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement