तीनधारेमा ३३औं भाषा मान्यता दिवस पालन

IMG-20240820-WA0240

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा ३३औं नेपाली भाषा मान्यता दिवस पालन गरिएको छ। साहित्य कला संस्थान तीनधारेले भाषा मान्यता दिवस विभिन्न स्थानहरूमा पालन गर्ने कर्मलाई जारी राख्दै यसपाली तीनधारेको गोलाई पाखास्थित मित्र संघ भवनमा आयोजना गरेको छ। उक्त कार्यक्रम मित्र संघ गोलाई पाखाको सभापति मसीह प्रकाश मोक्तानको अध्यक्षता र बरूण रसाईलीको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थान तीनधारेको मूल सचिव सन्तोष लामाले राखेका थिए। कार्यक्रममा भाषा संग्रामीहरू र वरिष्ठ साहित्यकार एंव तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक हस्त नेचालीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ।

कार्यक्रममा दिपक प्रधानले हस्त नेचालीको विभिन्न योगदान साथै भाषा आन्दोलनमा रहेको योगदान विषयमा वक्तव्य राखेका थिए। त्यसरी नै मित्र संघको पक्षबाट दिवांशी विश्वकर्मले नृत्य प्रस्तुत गरेका थिए भने चन्द्रिका विश्वकर्मले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलनमा तीनधारेको भूमिका विषयमा मदनकुमार प्रधानले वक्तव्य राखेका थिए।

त्यसरी नै मित्र संघ गोलाई पाखाको सचिव राजेस सेवाले भाषा दिवस कार्यक्रम मित्र संघमा आयोजना गरिदिएकोमा साहित्य कला संस्थान तीनधारेप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा पञ्चायत समिति सदस्या स्नेह बरदेवा, बरूण रसाईली, मसीह प्रकाश मोक्तान आदिले कविता पठन गरेका थिए। कार्यक्रममा मित्र संघ गोलाई पाखाको सभापति मसीह प्रकाश मोक्तानले आफ्नो अध्यक्षीय सम्बोधन राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीले धन्यवाद ज्ञापन राखेका थिए।

About Author

Advertisement