खरसाङ: भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा ३३औं भाषा मान्यता दिवस एम् सम्मान अनि शैक्षिक योग्यता पुरस्कार अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको उप सभापति प्रकाश प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार मिलन बान्तावा उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा सूचना अनि सांस्कृतिक विभाग भाषा अनि साहित्यका सह निर्देशक बिमल राई, वरिष्ठ पत्रकार केशव प्रधान, वरिष्ठ साहित्यकार पूर्ण गुरुङ निरुपम, जीबी बल, आकाशवाणी खरसाङको पूर्व निर्देशक बलराम राई, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको अध्यक्ष ब्रिगेन गुरूङ उपस्थित रहेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण पुस्ताकालयको मूल सचिव विनोद रसाइलीले राखेका थिए। यसै कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट यसपालीदेखि नेपाली भाषामा निरन्तर शिक्षा प्रदान गर्दै आएका शिक्षक शिक्षिकाहरूलाई सम्मान जनाउने प्रथा शुरु गरिएको छ। यस अन्तर्गत सन्त अल्फन्सेस विद्यालय खरसाङका शिक्षक राजेन खवास ‘प्रयासी’ लाई पहिलो समर्पित शिक्षक सम्मानद्वारा सम्मानित गरिएको छ। उनलाई पुस्तकालयको पक्षबाट खदार्पणसहित नेपाली जातीय टोपी पहिराएर शल ओढ़ाएर साथै सम्मान पत्रद्वारा सम्मानित गरिएको छ। यस क्रममा शिक्षक राजेन खवासको जीवनी पठन रचना राई अनाकरले गरेकी थिइन् भने सम्मान पत्र पी लक्की शेर्पाद्वारा पठन गरिएको थियो। कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक, स्नातक तह साथै गणित, जीव विज्ञान अनि पोलिटेक्निक कलेज टना उच्च अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई विभिन्न व्यक्तिहरूद्वारा प्रायोजित शैक्षिक योग्यता पुरस्कारहरू प्रदान गरिएको छ। यस शैक्षिक योग्यता पुरस्कार समारोहलाई पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित साहित्यकार मिलन बान्तावाले नेपाली भाषा, साहित्य र भाषा संग्रामीहरू विषयमा वार्ता प्रस्तुत गरेका थिए। उनले नेपाली भाषाको मान्यता र वर्तमान समयमा भाषाको स्तर र प्रयोग विषयमा वक्तव्य राखेका थिए। मिलन बान्तावाले भाषाले मान्यता त पायो र उपलब्धि शून्य रहेको बताउँदै मान्यता पाएर पनि भाषाले पाउनु पर्ने सुविधा नपाउनु हाम्रै कमजोरी हो भनी बताएका छन्। उनले नेपाली भाषालाई व्यवहारिक रूपमा प्रयोग गर्नुपर्छ भन्दै यसको लागि सबैले तल्लो स्तरत्रदेखि काम गर्नुपर्छ अनि विशेष गरेर राजनैतिक पार्टीका प्रतिनिधिहरूले हाम्रो बुध्दीजिवीहरूसित मिलेर कार्य गर्नु आवश्यक छ भनी बताएका छन्। कार्यक्रममा विशिष्ट अतिथि खरसाङ नगरपालिकाको अध्यक्ष ब्रिगेन गुरुङले गोर्खा जनपुस्ताकालय खरसाङले दिएको ज्ञापन अनुसार खरसाङ नगरपालिकाको क्षेत्र पर्नेतिर नेपाली भाषा प्रयोगलाई लिएर कार्य गर्ने वचन दिएका छन्।

कार्यक्रममा समर्पित शिक्षक सम्मानद्वारा सम्मानित शिक्षक राजेन खवास प्रयासीले य सम्मानको लागि गोर्खा जनपुस्ताकालय खरसाङप्रति आभार प्रकट गरेका छन्। उनले आफ्नो गुरुहरूलाई सम्झना गरेका छन्। उनले विद्यार्थीहरूलाई आफ्नो जाति, समाज र देशको लागि केही काम गर्ने आह्वान् पनि गरेका छन्। कार्यक्रममा अध्यक्षीय सम्भाषण प्रकाश प्रधानले राखेका थिए।









