नयाँ दिल्ली: पूर्व हेभिवेट बक्सिंग च्याम्पियन माइक टाइसन ५८ सालको उमेरमा फेरि एकपल्ट रिंगमा ओर्लिन तयार छन्। यूट्यूबर ज्याक पलसँग उनको भिड़न्त १५ नोभेम्बरमा टेक्सासमा हुनेछ। पहिला यो भिड़न्त २० जुलाईमा हुनु थियो तर टाइसनको अस्वस्थताले गर्दा लड़ाइँको मिति पछि सारिएको थियो। टाइसनले बताएअनुसार, अहिले उनी असल स्थितिमा छन् अनि दुई-तीन हप्ता अघिदेखि अभ्यास शुरु गरेका छन्। आफ्नो समयका सबैभन्दा आक्रामक बक्सरहरूमा सामेल टाइसनसँग यति अधिक उमेरमा बक्सिंग रिंगमा ओर्लिने अनुभवबारे प्रश्न गरिँदा उनले भने, म नै यस्तो गर्न सक्छु। म यस भिड़न्तको निम्ति सम्पूर्ण रूपले तयार छु। उल्लेखनीय छ, १९८७-देखि १९९०-सम्म हेभिवेट च्याम्पियन रहने टाइसनले २००५-मा खेलबाट सन्न्यास लिएका थिए। त्यसपछि उनले २०२०-मा रोय जनसनविरुद्ध एउटा प्रदर्शनी बाउटमा हिस्सा लिएका थिए। यसपाली उनलाई रिंगमा हेर्नको निम्ति प्रशंसकहरूबीच व्यापक उत्साह देखिएको छ। टाइसनको करियरमा जीत-हारको रेकर्ड ५०-६ रहेको छ अनि यसमा ४४ वटा जीत नक्आउट रहेको छ। यसरी नै २७ वर्षीय ज्याक पलको रेकर्ड १०-१ रहेको छ। प्रेस कन्फ्रेन्समा उपस्थित दर्शकहरूले टाइसनको उत्साह बढ़ाउनको साथै ज्याकलाई हूटिंग गरे। ज्याक पलले भने, टाइसन असाधारण बक्सर थिए तर २० साल अघि। अहिले टाइसनविरुद्ध जीत हासिल गरिहाले पनि त्यति प्रसिद्धि प्राप्त नहुने कुरा मलाई थाहा छ कारण उनी पहिलाको टाइसन होइनन् तर म एउटा ठूलो मञ्चमा यस्ता एकजना बक्सरसँग लड़ाइँ गर्न गइरहेको छु, जो मभन्दा धेरै अनुभवी छन्। त्यही मेरो निम्ति ठूलो कुरा हो। यस लड़ाइँबाट म धेरै कुरा सिक्ने मौका पाउनेछु।









