झापा: आर्थिक वर्ष २०२३/२०२४ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले अगष्ट १८ तारिख रविबार सार्वजनिक गरेको आव २०२३/२०२४ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार जुन – जुलाईसम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ। आव २०२२/२०२३ को तुलनामा १६.५ प्रतिशतले बढी हो। आव २०२२/२०२३ मा रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने सङ्कुचन आएको छ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो। गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार १९९ रहेको छ। अघिल्लो वर्षको सो अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई लाख ७७ हजार २७२ रहेको थियो।
समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो।
आर्थिक वर्ष २०२३/२०२४ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा तीन अर्ब ७७ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा एक अर्ब ६६ करोडले बचतमा रहेको छ।
यस्तै पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई पाँच अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ४० करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब १७ करोड रहेको थियो।
गत जुन – जुलाईमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ। २०२३ जुन – जुलाईमा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो। आव २०२३/२०२४ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ। अघिल्लो आव यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो।
आव २०२३/२०२४ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई एक खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य देशतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आइ १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने देशका आधारमा भारत तथा अन्य देशबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ।
गत आवको जुन – जुलाईमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई २०२४ जुन – जुलाईमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२३ जुन – जुलाईमा ११ अर्ब ७१ करोड रहेकोमा २०२४ जुन – जुलाईमा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०२३ जुन – जुलाईमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०२४ जुन – जुलाईमा ३७.४ प्रतिशतले वृद्धि भई १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ। बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०२३ जुन – जुलाईमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०२४जुन – जुलाईमा ०.५ प्रतिशतले कमी आई एक खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ। २०२४ जुन – जुलाईको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।









