झापा: भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान गर्न दुई वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगामी अक्टूबर २७ देखि सुरु हुने हिउँदे उडान तालिका अनुसार भैरहवामा उडान गर्न कुवेतको जजिरा एयर र हङ्गेरीको बिज एयरले विभिन्न छुट मागसहित उडान तालिका स्वीकृत गर्न अगस्त १३मा पत्राचार गरेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जजिरा एयरले कुवेतबाट र बिज एयरले अबुधाबीबाट साताको चार/चार दिन उडान गर्न अनुमति मागेको जानकारी दिए। उनले भने , “उडान अनुमतिसँगै उक्त कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, इन्धन, पर्यटन करमा छुटसमेत माग गरेकाले सरकारले निर्णय गरेलगत्तै उडानको प्रक्रिया सुरु हुने छ।”
प्राधिकरणले हाल उक्त एयरपोर्टमा उडान गर्ने हवाई कम्पनीलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसनलगायतमा छुट दिइरहेको भन्दै सूचना अधिकारी भुलले हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर, इन्धन र पर्यटन कर प्राधिकरणको दायराभन्दा बाहिरको विषय भएकाले सरकारको निर्णय कुरिरहेको बताए।
जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको उनले जानकारी दिए। सरकारले छुटसम्बन्धी निर्णय गरेपछि ढाका–पोखरा–ढाका उडानका लागि अनुमतिको प्रक्रियामा रहेको बङ्गलादेशको विमान कम्पनी एयर अस्त्रले पनि साताको तीन दिन पोखरामा उडान गर्ने सूचना अधिकारी भुलले जानकारी दिए।
यसअघि जजिरा एयरवेजले २०२२ मई १५देखि कुवेत–भैरहवा उडान सुरु गरेको थियो। खराब मौसमका कारण कम भिजिबिलिटीमा उडान र अवतरण हुन नसकेको भन्दै २०२२ दिसम्बर – जनबरीबाट उडान स्थगित भएको थियो। उडान स्थगन गरेको जजिराले पुनः २०२२ मार्च ९देखि उडान सुरु गरेर २०२३ मार्च – अप्रैल देखि उडान बन्द गरेको हो।









