एसकेएमको नारी शक्तिले गान्तोकमा पालन गर्‍यो रक्षा बन्धन पर्व

IMG-20240819-WA0327

गान्तोक: विभिन्न चाड़, पर्व र अवसरलाई भव्यतासित पालन गर्ने संस्कार र परम्परालाई एक कदम अघि सार्दै सिक्किम राज्यमा पहिलोपल्ट राज्यस्तरीय रक्षा बन्धन कार्यक्रम आयोजना गरियो। कार्यक्रमको आयोजना सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको नारी शक्तिद्वारा गरिएको थियो। राजधानीको मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। यस अवसरमा राज्यको सबै समष्टिबाट आएका नारी शक्तिका सदस्यहरूले मुख्यमन्त्रीलाई रक्षा बन्धन लगाइदिए भने मुख्यमन्त्रीले पनि सबैलाई उपहार दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सम्पूर्ण राज्यवासीलाई रक्षा बन्धनको शुभकामना व्यक्त गरे। जसरी रक्षा बन्धन पर्वले चेली र माइतीबीच सुरक्षाको भाव जगाउँछ त्यसरी नै राज्य सरकारले राज्यमा भएका प्रत्येक जात-जाति र समुदायलाई सुरक्षा साथै संरक्षण र सम्वर्द्धन गर्दै आएको उनले बताए। एसकेएम सरकारले सिक्किमे समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ, उनले भने। हाल राज्यका सबै जाति समुदायले स्वतन्त्ररुपमा आ-आफ्नो चाड़ पर्व र परम्परालाई पालन गर्न पाइरहेको कुरा मुख्यमन्त्रीले आज फेरि दोहोऱ्याए।
हालको समय देशव्यापी रुपमा जल्दोबल्दो विषय बनेको नारी सुरक्षामाथि पनि आज मुख्यमन्त्रीले आफ्नो विचार व्यक्त गरे। आफैभित्र परिवर्तन भए नारीमाथि हुने हिंसात्मक घटनाहरू स्वत: हराएर जाने उनले आफ्नो सम्बोधनमा बताए। सिक्किम राज्यको सन्दर्भमा कुरा गर्दै राज्यमा वर्तमान सरकारकालमा सबैभन्दा अधिक योजनाहरू आमा र चेलीहरूसित सम्बन्धित रहेको मुख्यमन्त्री तामाङले आज आफ्नो सम्बोधनमा बताए। आमा सशक्तिकरण योजनामार्फत आमाहरूले वर्षेनी ४० हजार रुपियाँ प्राप्त गर्ने गरेको जानकारी गराउँदै आगामी दशैँभन्दा अघि २० हजार रुपियाँको दोस्रो किस्ती पनि प्रदान गरिने बताए। यसरी नै आमा सहयोग योजना अन्तर्गत खाना पकाउने ग्यास भर्न आर्थिक सहयोग प्रदान गरिने, बहिनी योजनाअन्तर्गत सबै स्कूल र कलेजहरूमा सेनिटेरी नेपकिन उपलब्ध गराउने कार्य भइरहेको पनि थप बताए। यसकासाथै पर्यावरणसँग सम्बन्धित शिशु समृद्वि योजना र मेरो रूख मेरो सन्तति र सन्तान प्राप्तीको सुखबाट वञ्चित वैवाहिक जोड़ीहरूको निम्ति वात्सल्य योजनाको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गरे। राज्य सरकारका विभिन्न विभागमा भर्खरै स्थायी भएका कर्मचारीहरूमा अधिकतम छोरी चेलीहरू रहेको पनि मुख्यमन्त्री तामाङले थप बताए।
कार्यक्रममा रक्षाबन्धनलाई लिएर उज्ज्वल कलाकेन्द्र तादोङद्वारा तयार पारिएको एक सचेतनामूलक लघु नाटक “माइती राजा”-को मञ्चन पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement