झापा: डेढ वर्षदेखि ओमनको अस्पतालमा अचेत रहेकी झापा मेचीनगरकी बिनादेवी कँवरलाई नेपाल ल्याइदिन उनका छोराले अपिल गरेका छन्।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले बिरामी अवस्थामा रहेकी आफ्नी आमालाई नेपालसम्म ल्याउनका लागि आर्थिक सहयोग गरिदिन छोरा सञ्जय कँवरले पत्रकारहरूमार्फत अपिल गरेका हुन्। प्रेस क्लब मेचीनगरको हलमा सञ्जयले आर्थिक र समन्वयात्मक सहयोग गरेर आमालाई नेपालसम्म ल्याइदिन आग्रह गरे।
बिनादेवीे मेचीनगर १० स्थित कँवर बस्तीका चिनीलाल कँवरकी श्रीमती हुन्। बिनादेवीका श्रीमान् चिनीलाल धुलाबारीमा सामान्य ज्यालादारी काम गर्छन्। जेठा छोरा सञ्जय मेचीनगर ७ स्थित राज टी इस्टेटमा मजदुरी गर्छन्। कान्छा छोरा सुरज काठमांडूमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कँवरको विवाह भइसकेको छ।
४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न २०१८ मा वैदेशिक रोजगारीका लागि ओमन गएकी थिइन्। २०१८ दिसम्बर तिर कुवेत उडेकी बिनादेवी १४ महिनापछि फर्किएकी थिइन्। भनिएजस्तो काम नभएर कुवेतबाट फर्किएको महिना दिन नबित्दै उनी पुनः खाडी मुलुक ओमन उडेकी थिइन्। ‘लडेको दिनदेखि आमाको अहिलेसम्म होस आएको छैन’, सञ्जयले सुनाए, ‘आमा कुन अस्पतालमा कुन हालतमा छिन , थाहा छैन।’
उनले ओमनबाट आमालाई नेपाल ल्याउन पाए यतै हुने जति उपचार गर्ने बताए। बिनादेवीलाई घर ल्याउन १४ लाख बढी खर्च लाग्ने भएपछि सञ्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन्।









