गान्तोक: गान्तोकको विकास क्षेत्रस्थित ब्रह्मकुमारी शान्ति कुण्डमा आज रक्षा बन्धन पर्व एवं नशामुक्त भारत अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राज्यका मुख्यमन्त्री पीएस तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए।
यस अवसरमा विशिष्ट अतिथिको रुपमा ब्रह्मकुमारी मुख्यालयको स्वास्थ्य प्रकोष्ठका सचिव ब्रह्मकुमार डाक्टर बन्सीलाल साह उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णकुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एनएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायगण अनि अन्यको उपस्थिति रहेको थियो।
ब्रह्मकुमारी मुख्यालय अनि समाज कल्याण मन्त्रालयको संयुक्त पहलमा शुरु गरिएको नशामुक्त भारत अभियानको मुख्यमन्त्री तामाङले विधिवत रुपमा उद्घाटन गरे। सिक्किमको छवटै जिल्लामा यो अभियानलाई पुऱ्याउनको निम्ति ब्रह्मकुमारीहरूले मुख्यमन्त्रीको बाहुलीबाट झण्डा अनि कलश ग्रहण गरेर प्रस्थान भए। यो अभियान देशव्यापी रुपमा राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन गरेकी थिइन् भने विभिन्न राज्यमा मुख्यमन्त्री एवं राज्यपालहरूले उद्घाटन गरिरहेका छन्। यही क्रममा आज सिक्किममा पनि यसको उद्घाटन गरिएको हो।
योसँगै ब्रह्मकुमारी शान्तिकुण्डको प्रभारी सोनाम दिदीको नेतृत्वमा ब्रह्मकुमारी दिदीहरूले मुख्यमन्त्री एवं उनकी धर्मपत्नीलाई टिका लगाएर रक्षा बन्धन लगाइदिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले सबैलाई रक्षा बन्धनको अवसरमा शुभकामना दिए। रक्षा बन्धन समाजमा एउटा पवित्रताको बन्धन रहेको साथै यो बन्धनले सबैलाई एक अर्काको सुरक्षा गर्ने प्रतिबद्धता रहेको उनले बताए। मान्छे सर्वश्रेष्ठ प्राणी हो, मान्छेमा के सही हो के गलत त्यसलाई छुट्याउने शक्ति छ, तर आजको युगमा मान्छेले यसलाई प्रयोग गर्न छोडेको उनले बताए। अब मानव जातिले आफ्नो शक्तिलाई मानव सेवाको निम्ति प्रयोग गर्नको निम्ति अघि आउने आह्वान गरे।
मानिसलाई परेको समयमा सहयोग गर्नको निम्ति भगवान बन्नु पर्दैन, तर केवल मानिस भए पुग्छ, यसर्थ मानिस भएर समाजलाई अधि लगाउन कार्य गर्न उनले सबैलाई आह्वान गरे। आजको युगमा सबै प्रकारको सुविधा छ तरै पनि आजको मान्छेहरू सन्तुष्ट र खुशी छैनन, अशान्ति बढेर गएको छ, त्यही अशान्तिले मानिसलाई नशामा तानेर लगिरहेको छ। यस्तो स्थितिमा ब्रह्मकुमारीले नशामुक्त भारतको पहलको निम्ति समस्त सिक्किमे जनताको पक्षबाट उनले आभार व्यक्त गरे।
आजको हाम्रो सिक्किमे समाज नशाको दलदलमा फँस्दै गइरहेको छ र हाम्रो राज्यलाई नशामुक्त बनाउन केवल सरकार, संघ संस्थानको मात्र नरहेर हरेक राज्यवासीको जिम्मेवारी रहेको उनले बताए। हाम्रो युवाहरूलाई नशाको दलदलबाट निकाल्नको निम्ति सरकारको समाज कल्याण विभागले पनि कार्य गरिरहेको छ र यो कार्यमा सबैले सहयोग गर्ने पनि सबै नागरिकहरूलाई उनले आग्रह गरे।
यसले समाजलाई राज्य, राष्ट्र अनि विश्वसाई नै बिथोल्दै गइरहेको छ, यसलाई रोक्नको निम्ति समाजमा कसैले नशालु पदार्थको सेवन गर्दैछ भने प्रशासनलाई खबर दिएर त्यो व्यक्तिको जीवनमा परिवर्तन ल्याउनको निम्ति योगदान दिने पनि मुख्यमन्त्रीले आग्रह गरे। नशा सेवन पहिले पहिले त राम्रो हुन्छ, तर पछि यसले सम्पूर्ण जीवनलाई नाश गर्ने हुँदा नशाबाट अलग रहने सबै युवाहरूलाई आग्रह गरे। हामी मानवले आफूभित्र भएको गुणहरूलाई चिनेर अनि आफैलाई नियन्त्रण गरेर अघि बढे, मानव समाज अवश्य स्वर्ग सरह हुने उनले भने।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




