अन्तरविद्यालय चेस च्याम्पियनशीपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

IMG-20240818-WA0265

गान्तोक: सिक्किम चेस एसोसिएसनको तत्वावधानमा आजदेखि राजधानीको सर टाशी नामग्याल सिनियर सेकेण्डेरी स्कूलको प्रेक्षागृहमा अन्तर विद्यालय चेस च्याम्पियनशीप २०२४ शुरू भयो। आगामी २० अगस्तसम्म चल्ने यस राज्यस्तरीय अन्तरविद्यालय चेस प्रतियोगितामा सबै जिल्लाबाट जम्मा ४२ वटा विद्यालयका पाँच सयभन्दा अधिक विद्यार्थीहरूले सहभागिता जनाएका छन्। आयोजकपक्षको भनाइअनुसार गत वर्षको तुलनामा विद्यार्थीहरूको सहभागितामा धेरै वृद्धि भएको छ जसलाई राज्यमा चेस खेलमा भइरहेको विकासको सङ्केत मान्न सकिन्छ। यो च्याम्पियनशीप स्वीस लीग प्रणालीमा खेलाइएको छ जसअन्तर्गत एकजना खेलाड़ीले जम्मा नौपल्टसम्म खेल्ने अवसर प्राप्त गर्नेछ। अन्तमा शीर्ष दशलाई छनौट गरेर नगद पुरस्कार प्रदान गरिनेछ भने छात्र अनि छात्रा वर्गका सर्वश्रेष्ठ खेलाड़ीलाई आकर्षक ट्रफी पनि प्रदान गरिनेछ। यसकासाथै तीनवटा उमेर वर्ग अण्डर सेभेन, अण्डर नाइन र अण्डर इलेभेनमा छनौट भएका श्रेष्ट खेलाड़ीलाई पनि मेडल प्रदान गरिनेछ।
च्याम्पीयनशीपमा विद्यार्थीहरूको सहभागिताले उत्साहित सिक्किम चेस एसोसिएसनका महासचिव महेन्द्र ढकालले राज्यमा चेस खेल सही दिशामा अघि बढिरहेको बताए। गत वर्षको तुलनामा दुवै छात्र अनि छात्राहरूको सङ्ख्यामा बड़ोत्तरी भएको छ। यसकासाथै विद्यार्थीहरूमा अनुशासन र खेल प्रतिको रुचि पनि बढेको छ, उनले भने। पछिल्ला समय राज्यका धेरैवटा विद्यालयले चेस खेललाई अप्नाएकाले राज्यमा यस खेलको विकास द्रूत गतिमा भइरहेको ढकालको मन्तव्य रहेको छ। यसमा राज्यका केही शीर्ष खेलाड़ीहरूको महत्वपूर्ण योगदान रहेको जसले चेस टिचरको रुपमा ती विद्यालयहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिने काम गरिरहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement