एनआरएआई-को चयन नीतिको आलोचना गरे प्रशिक्षक जसपाल राणाले

IMG-20240818-WA0251

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा २ वटा पदक जितेर इतिहास रच्ने महिला शूटर मनु भाकरकी प्रशिक्षक जसपाल राणाले राष्ट्रिय महासंघको लगातार बद्लिने चयन नीतिको आलोचना गर्दै यसले अतीतमा केही सबैभन्दा प्रतिभाशाली शूटरहरूलाई नोक्सान भएको अनि यसमा सुधार जरूरी रहेको बताए। एशियन गेम्स (२००६)-मा तीनवटा स्वर्ण पदक जित्ने राणाले भारतीय राष्ट्रिय राइफल संघ (एनआरएआई)-को आफ्नो रणनीतिहरू अन्तिम समयमा बद्ली गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। राणाले आफ्नो विचार व्यक्त गर्दा मनु पनि त्यहाँ उपस्थित थिइन्। मनुले पेरिस ओलम्पिकमा १० मीटर एयर पिस्टल र १० मीटर एयर पिस्टल मिश्रित स्पर्धा (सरबजोत सिंहसँग मिलेर) काँस्य पदक जितेकी थिइन्। राणाले भने, महासंघको चयन नीति हरेक ६ महिनामा बद्लिन्छ। उनीहरूसँग निर्णय लिने अधिकार छ तर त्यस निर्णयमा कायम रहनु पनि जरूरी छ। त्यसपछि मात्र शूटरहरूका प्रदर्शनमा अन्तर देख्न सकिनेछ। उल्लेखनीय छ, टोक्यो ओलम्पिक खेलहरूमा १० मीटर एयर पिस्टलको फाइनलमा स्थान बनाउने एकमात्र खेलाड़ी सौरभ चौधरी र एशियन गेम्समा स्वर्ण पदक विजेता जीतू राई जस्ता धेरै प्रतिभाहरू केही सालमै हराए। राणाले भने, सौरभ चौधरी कहाँ गए? जीतू राई कहाँ छन्? आज किन कसैले उनीहरूबारे कुरा गर्दैनन्? के हामी अर्जुन बाबुताबारे कुरा गरिरहेका छौं, जो पेरिसमा मामूली अन्तरले गर्दा पदक जित्नदेखि चुकेका थिए। के कसैले उनको खबर लिएका छन्? दुर्भाग्यवश यस्तो हुन सकेको छैन।
रियो ओलम्पिकपछि टोक्यो ओलम्पिकमा पनि पदक जित्न नसकेपछि एनआरएआई-ले २०२१-मा आफ्नो चयन मानदण्डहरूमा संशोधन गरेको थियो। उनीहरूले कोटा हासिल गर्ने शूटरहरूलाई प्राप्त हुने बोनस अंकमा भारी कटौती गरेर लामो अन्तरालपछि चयनको निम्ति ट्रायल्सको शुरुवात गरेको थियो। राणाको भनाइअनुसार, उनी बद्लाउको विरोधमा छैनन् तर ओलम्पिक चक्रको अवधि अधिक निरन्तरता बनाउनु पनि जरूरी छ। उनले भने, अहिले हामीसँग ओलम्पिक र विश्व कपका पदक विजेताहरूलाई सुरक्षा प्रदान गर्नको निम्ति कुनै तन्त्र छैन। हामी ओलम्पिक पदक विजेताहरूलाई लामो समयसम्म देख्न सक्दैनौ कारण हामीसँग उनीहरूलाई सुरक्षा प्रदान गर्नको निम्ति कुनै प्रणाली छैन। यसबारे महासंघले गम्भीरतापूर्वक सोच्नु पर्नेछ। हामीले आफ्ना शूटरहरूलाई कदर गर्नु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement