गोर्खा जन पुस्तकालय, खरसाङमा सुनौँ सुनाऔँ कार्यक्रमको ५१औँ प्रकरण सम्पन्न

IMG-20240818-WA0236

खरसाङ: गोर्खा जन पुस्तकालय खरसाङको तत्वावधानमा सम्पन्न हुँदै आइरहेको मासिक साहित्यिक कार्यक्रम ‘सुनौँ सुनाऔँ’को ५१ औँ प्रकरण सम्पन्न भएको छ। खरसाङका वरिष्ठ तथा युवा साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रम पुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको थियो। आफ्नो लेखन आग्रह अर्थात म किन लेख्छु -को सन्दर्भमा आफ्ना विचार राख्दै आफ्नो रचना पठन गर्नुपर्ने आजको कार्यक्रममा साहित्य अकाडेमी बाल साहित्य पुरस्कार प्राप्रक सुदर्शन अम्बटे, नेपाली भाषा परामर्श समिति सदस्या आशा मुखिया लामा, मिलन प्रधान, मेहेक प्रधान, तारा छेत्री, शोभा राई, सरोजिनी ‘सागर’, बालकृष्ण थामी, दिपक ठटाल ‘जलन’, केवल सिन्चुरी, प्रदीप शेर्पा, नितेश राई, प्रसन्नता छेत्री, धिरज बस्नेत छेत्री आदिले आफ्ना साहित्यिक विचार राखेर कविता वाचन गरेका थिए। कार्यक्रमको अन्त्यमा गोर्खा जन पुस्तकालयका सचिव विनोद रसाइलीले कार्यक्रमको पर्यवेक्षण प्रस्तुत गर्नाका साथै आफ्नो रचना वाचन गरेका थिए। सचिव रसाइलीले सुनौँ सुनाऔँ कार्यक्रमको सुरुवात अनि यसको इतिहासलाई संक्षेपमा स्मरण गर्दै आउँदो समयको रुपरेखा तथा लक्ष्यबारे प्रकाश पारे। वाचन गरिएका रचनाबारे कुरा राख्दै नयाँ पुस्ताका कलमहरूलाई निरन्तर साधना गर्ने सुझाव राखे। यसका साथै उनले आगामी २० अगस्तका दिन पुस्तकालयद्वारा पालन गरिने ३३औं भाषा मान्यता दिवस समारोहमा उपस्थित भइदिने अनि उक्त कार्यक्रममा विभिन्न बोर्ड परीक्षाहरूमा महकुमा स्तरमा सर्वाधिक अङ्क प्राप्त गर्ने मेधावी विद्यार्थीहरूलाई पुस्तकालयका शुभचिन्तकहरूद्वारा प्रायोजित नगद राशि तथा प्रमाण-पत्रद्वारा सम्मानित गरिने जानकारी गराए। यसबाहेक यसवर्षदेखि भाषा मान्यता दिवसकै अवसरमा नेपाली भाषा-शिक्षण सेवामा उल्लेखनीय योगदान पुऱ्याउने समर्पित भाषा शिक्षकलाई पनि सम्मान जनाइने तय गरिएअनुसार यस वर्ष सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालय, खरसाङका वरिष्ठ नेपाली भाषा-शिक्षक राजेन खवासलाई सम्मान जनाइने जानकारी गराए। समाजसेवी बिजया ब्लोन, पुस्तकालय कार्यकारी समिति सदस्य प्रनिता मुखिया घिसिङ, कृष्ण पाण्डे, पुस्तकालय सहायक गौतम प्रधान लगायत अन्यको उपस्थिति रहेको कार्यक्रमलाई पुस्तकालयका कार्यकारी सदस्य एवम् मासिक साहित्यिक कार्यक्रम उप समिति संयोजक सञ्जीव छेत्रीले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement