तीनधारेका तीनजना वरिष्ठ गायक संगीतकारहरू गोपाल योञ्जन संगीत सम्मानद्वारा सम्मानित
खरसाङ: नेपाली संगीतका वाङ्गेयकार गोपाल योञ्जनको ८१औं जन्म जयन्ती समारोह अनि गोपाल योञ्जन संगीत सम्मान अलङ्करण समारोह सम्पन्न भएको छ। गौरव मञ्च तीनधारेको आयोजनामा तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता तीनधारे रेलवे अस्पतालको डाक्टर ईआर लामाको अध्यक्षता र युवराज सुन्दासको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नराखेर उपस्थित वरिष्ठ गायाक – संगीतकारहरू र कलाकारहरू साथै समाजका विशिष्ट व्यक्तिहरूलाई विशिष्ट अतिथिको रूपमा राखिएको थियो। यस कार्यक्रममा स्वागत सम्भाषण साथै गौरव मञ्च तीनधारेको उद्देश्य र यसको कार्यहरू विषयमा मञ्चको संयोजक सुप्रेम छेत्रीले वक्तव्य राखेका थिए। उनले तीनधारे क्षेत्रमा साहित्य, कला, संगीत सबैलाई समेटेर लगातार रूपमा कार्य गर्न तथा वरिष्ठ व्यक्तिहरूलाई सम्मान गर्नलाई यो गौरव मञ्च तीनधारेको गठन गरिएको बताउँदै यसको उद्देश्य तीनधारेको गरिमा फर्काएर ल्याउनु तथा तीनधारेको गौरवलाई फर्काएर ल्याउनु रहेको बताएका छन्। त्यसरी नै गोपाल योञ्जन संगीत सम्मान विषयमा गायक महेश सेवाले वक्तव्य राखेका थिए। कार्यक्रमको शुरुमा वरिष्ठ साहित्यकार एंव शिक्षाविद् साथै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक हस्त नेचाली र भजन सम्राट भक्तराज आचार्यको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको थियो। कार्यक्रममा उत्तर बंगाल विश्वविद्यालयका प्रोफेसर डा सञ्जय बान्तावले वाङ्गेयकार गोपाल योञ्जनको संगीत यात्रा साथै उनलाई किन नेपाली संगीतको वाङ्गेयकार भनियो भन्ने विषयमा महत्वपूर्ण र जानकारीमूलक वक्तव्य राखेका थिए। उनले वाङ्गेयकार गोपाल योञ्जन लेख्न सक्ने, वाचन गर्न सक्ने, संगीत दिनु सक्ने र गाउनु पनि सक्ने अनि तीनैवटा विधामा आधिकारिक रूपमा प्रयोग गर्न सक्ने क्षमता गोपाल योञ्जनमा थियो भनी बताएका छन्। डा सञ्जय बान्तावले गोपाल योञ्जनलाई किन वाङ्गेयकार भनिन्छ त्यस विषयमा नयाँ पुस्तालाई हामी बुझाउनुपर्छ भन्दै गोपाल योञ्जनमा गीत लेख्न, संगीत भर्न र गाउन प्रशस्त क्षमता थियो भनी बताएका छन्। उनले गोपाल योञ्जनमा छन्द, अलंकार बुझ्ने क्षमता थियो, संगीत शास्त्रको अथाह ज्ञान थियो, सुर, ताल, लय र राग मिलाएर असंख्या गीत रचेका थिए भनी बताएका छन्। यसै कार्यक्रममा गौरव मञ्च तीनधारेद्वारा तीनधारेका तीनजना वरिष्ठ गायक संगीतकारहरू क्रमैले गोपाल गजमेर, चन्दु भुसाल र गौतम मोक्तानलाई गोपाल योञ्जन संगीत सम्मानद्वारा सम्मानित गरिएको छ। तीनधारे क्षेत्रमा नेपाली संगीतको बीजारोपण गर्ने पुराना गायक संगीतहरूलाई गोपाल योञ्जन संगीत सम्मानद्वारा अलङ्करण गरिने प्रथा गत वर्षदेखि शुरु गरिएको थियो। गत वर्ष पहिलो गोपाल योञ्जन संगीत सम्मान तीनधारेका वरिष्ठ संगीतकार सुरेन बम्जनलाई प्रदान गरिएको थियो। यसपाली तीनजनालाई गोपाल योञ्जन संगीत सम्मान प्रदान गरिएको छ जसमा तीनैजनालाई खदार्पणसहित कदर पत्र अनि नेपाली सांगीतिक वाद्य वादन सारङ्गी प्रदान गरेर सम्मानित गरिएको छ। कार्यक्रममा सम्मानित व्यक्तित्व गोपाल गजमेर, काठमाण्डौंबाट आएका अतिथि गायक संगीतकार आभासजीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा वाङ्गेयकार गोपाल योञ्जनको गीतहरू प्रस्तुत गरिएको थियो। यस कार्यक्रममा म्युजिक तीनधारेको सांगीतिक प्रस्तुतिसितै गायकहरू क्रमैले गौतम गजमेर, चन्द्रिका विश्वकर्म, चन्दु भुसाल, अभिषेक लकान्द्री, बरूण रसाईली, विशाल प्रधान, कर्म मोक्तान, महेश सेवा आदिले गोपाल योञ्जनको गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रम मा गोपालमय बनेको थियो। त्यसरी नै कार्यक्रममा भजन सम्राट भक्तराज आचार्यलाई श्रध्दाञ्जली अर्पण गर्दै उनको ‘मुटु जलिरहेछ’ नामक गीत सामुहिक रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा सभाध्यक्ष डा. ईआर लामाले अध्यक्षीय सम्बोधन राखेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गौरव मञ्च तीनधारेको संयोजक सुप्रेम छेत्रीले विस्तृत रूपमा जानकारी गराएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




