झापा: मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडी सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिईएको हो।
नियन्त्रणमा लिएका उनीहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बेलका-३ रामपुर ठोक्सिला स्थित गिदेरी खोला बगरमा सो स्थान बस्ने ४८ बर्षीय कृष्ण राज मगर, बेलका नगरपालिका-६ का ५६ बर्षीय डिक बहादुर पूर्वछाने मगरलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
यस्तै,सप्तरीका ५५ बर्षीय उमेश प्रसाद चौधरीले बा. ८२ प ८८०५ र को.११ प ७६२१ नम्बरको २ वटा मोटरसाईकलमा ३ केजि ७१२ ग्राम सालकको खपेटा ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको प्रहरीले जनाएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




