झापा: रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा ग्रिडको विद्युत् पुर्याएको हो। बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको प्राधिकरणले जनाएको छ।
धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो। अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताउछन्। कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीयस्थल स्वर्गद्धारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईंकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौं।’
रसुवाको सदरमुकामबाट गोसाईंकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो। चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईंकुण्डमा पुर्याइएको छ। यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन्। पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरु मानिस र खच्चडले ढुवानी गरिएको थियो।
गोसाईंकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ। बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ। बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाईंकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जीव भट्टराईले बताए।
गोसाईंकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मरहरू राखिने छन्। गोसाईंकुण्डमा विद्युत् पुर्याउन गत वर्षको अगस्तमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




