गान्तोक: अप्पर तादोङ निर्वाचन क्षेत्र अन्तर्गत सोकेथाङको पीएचई भवनमा आज नेश्नल स्पेस डे पालन गरियो। नेश्नल हाइड्रोलजी प्रोजेक्ट, स्टेट प्रोजेक्ट मनिटरिङ यूनिट सिक्किमको संयुक्त पहलमा आयोजित कार्यक्रममा मन्त्री सोनाम लामा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले चन्द्रयाण ३ को सफलताको खुशीमा आज नेश्नल स्पेस डे मनाइरहेको अवगत गराए। उनले गत वर्षको ४ अक्टोबरमा उत्तर सिक्किमको ल्होनार्क झील परिसरमा बादल फाटेपछि राज्यलाई धेरै नोक्शान भएको बताउँदै यस बारेमा पनि यहाँ उपस्थित वैज्ञानिकहरूले चर्चा परिचर्चा गर्नुपर्ने सुझाउ राखे।
उक्त घटनालाई लिएर राज्य सरकारको तर्फबाट केन्द्रिय जल आयोग समक्ष अगावै रिपोर्ट बुझाइसकेको र यस विषयमा प्रधानमन्त्री लगायत सबै केन्द्रिय मन्त्रीहरूलाई पनि अवगत गराएको मन्त्रीले बताए। उनले सिक्किम भारतको एक अभिन्न अङ्ग बनेपछि केन्द्र सरकारको सहयोगमा राज्यले विकास गरिरहेको र वर्तमान सरकारले सिक्किमलाई एक नमुनाको राज्य बनाउने उद्देश्यले काम गरिरहेको बताए।
यस क्रममा उनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा सिक्किम प्रगतिको पथमा लम्किरहेको र देशले एक दूरदर्शी नेता पाएको किटान गरे। उनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै यस कार्यक्रममा अंशग्रहण गर्ने विद्यार्थीहरूलाई वैज्ञानिकहरूबाट केही कुरा सिकेर घर जान आह्वान गरे। उनले राज्यका विद्यार्थीहरू पनि वैज्ञानिक बन्नुपर्छ भनी सुझाउ एवं प्रोत्साहन दिए। कार्यक्रममा विभिन्न महाविद्यालय र विद्यालयका विद्यार्थीहरूलाई लिएर चित्रकला, निबन्ध प्रतियोगिताको पनि आयोजना गरिएको थियो।