गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत भारत-नेपाल सिमाना क्षेत्र उत्तरे, चित्रे र बजारधारामा अवस्थित सशस्त्र सीमा बलको ३६औं र ७२औं बटालियनको बोर्डर आउट पोस्टहरूमा ११ केभी लाइन र सब स्टेशनहरू जड़ान गर्ने कार्य सम्बन्धी आज एउटा महत्वपूर्ण समीक्षा बैठक बस्यो। जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकलाई क्षेत्र विधायक सुदेश कुमार सुब्बाले अध्यक्षता गरेका थिए। बैठकमा जिल्लापाल श्रीमती यशे डी योङ्गदा, देन्तामका महकुमा अधिकारी एमएन कार्की, एसएसबी ३६औं बटालियनका कमान्डेन्ट अजित मोहन, ७२औं बटालियनका कमान्डेन्ट मुन्ना सिंह, ऊर्जा विभागका एसीई जीवन थापा साथै अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकको मुख्य उद्देश्य राज्य तथा देशको सिमावर्ती क्षेत्रमा अवस्थित एसएसबीको बोर्डर आउटपोस्टहरूमा विद्युतीय उपकरण जड़ानको प्रस्तावित कार्यलाई समयमा पूरा गर्नु रहेको थियो। बैठकमा चर्चाको केन्द्रमा यी दुर्गम क्षेत्रहरूमा तैनाथ एसएसबी एकाइहरूको परिचालनमा अत्यावश्यक रहेको विद्युतीय उपकरण जड़ानलाई तीव्रता दिनको लागि आवश्यक पूर्वाधार र स्रोतहरू उपलब्ध गराउने कुरा रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै विधायक सुब्बाले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा राज्यको प्रत्येक कुना कन्धरामा बिजुली, पानी र सड़क विस्तार गर्ने कार्य भइरहेको बताए। पश्चिम सिक्किमको भारत-चीन सिमानामा देशको रक्षामा तैनाथ एसएसबीलाई सहज होस् भनेर विद्युतीय उपकरण जडानको कार्यलाई प्राथमिकता दिँदै यसरी उच्चरस्तरीय बैठक डाकेकोमा उनले जिल्लापाल श्रीमती योङ्गदाको प्रशंसा पनि गरे।
यसरी नै बैठकमा आफ्नो कुरा राख्दै जिल्लापाल यशे डी योङ्गदाले निर्धारित समय सीमाभित्र प्रस्तावित कामको सबै पेपरवर्क साथै सर्वेक्षणको काम पूरा गर्ने सम्बन्धित विभागलाई निर्देश दिइन्। यसको साथै उनले उनले देन्तामका महकुमा अधिकारीलाई संयुक्त सर्वेक्षणको मिति निर्धारित गर्ने अपील पनि गरिन्। अर्कोतिर सशस्त्र सीमा बलको ७२औं बटालियनका कमान्डेन्ट मुन्ना सिंहले प्रस्तावित परियोजनालाई लिएर भारत सरकारको गृह मन्त्रालयमा पठाइएको डीपीआर-को प्रस्तावलाई मञ्जुरी प्रदान गर्ने कार्य द्रूत गतिमा भइरहेको बैठकलाई जानकारी गराए।









