गान्तोक: तेस्रो राज्यस्तरीय नार्को समन्वय समितिको बैठक आज टाशीलिङ सचिवालयमा राज्यका मुख्य सचिव वीबी पाठकको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा नार्कोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) सिलगढीका क्षेत्रिय निर्देशक पीआर मिश्राले नार्कोको दोस्रो बैठकमा लिएको निर्णय र पहलबारे रिपोर्ट बुझाए।
उक्त बैठकमा पीआईटी एडभाइजरी बोर्ड गठन, राज्यमा स्पेशल एनडीपीएस कोर्टको निर्माण, राज्यस्तरी र जिल्लास्तरीमा नार्कोको बैठकहरू आयोजना गर्ने, मानसलाई एन्टी-नार्कोटिक्स टास्क फोर्ससँग एकीकृत गर्न लगायत अन्य विभिन्न महत्वपूर्ण विषयमा छलफल गरिएको जानकारी गराइएको छ।
बैठकलाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले औषधि आपूर्ति श्रृंखलाको कडा अनुगमनको आवश्यकतामाथि जोड दिए। उनले स्वास्थ्य एवं परिवार कल्याण विभागको औषधि नियन्त्रकलाई केन्द्रबाट पठाउने र राज्यमा प्राप्तिको नजिकबाट निरीक्षण गर्न र आवश्यक परेमा कडा कारबाही गर्न आग्रह गरे। उनले समाज कल्याण विभागलाई लागुऔषध पुनर्स्थापना केन्द्रको अनुमति पत्रका लागि दिशानिर्देश तयार गर्न सुझाउ दिए।
उनले एनसीओआरडी समितिलाई बैठकमा छलफल भएका रणनीतिलाई छिटो कार्यान्वयन गर्न र नियमित प्रगति प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिए। उनले लागूऔषध ओसारपसार नियन्त्रणका लागि स्थलगत प्रयासलाई तीब्रता दिनुपर्नेमा जोड दिए। राज्यमा लागुऔषधको खतरालाई प्रभावकारी रूपमा सम्बोधन गर्न यी प्रयासहरूलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए। यसबाहेक, सचिवले एन्टी नार्कोटिक्स टास्क फोर्स (एएनटीएफ) लाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) सँग समन्वय राखेर गान्तोकमा प्रशिक्षण सत्रहरू आयोजना गर्न सुझाउ दिए।
उनले राज्यमा हुने लागुऔषध ओसारपसारको शृङ्खलालाई तोडनको लागि सीमावर्ती क्षेत्रमा ध्यान केन्द्रित गर्न लगाए। उनले अधिकारीहरूलाई सुरक्षित व्यवस्थापनको लागि डिजिटल लकर प्रणाली अपनाउन आग्रह गर्दै सम्बन्धित विभागहरूलाई राज्यभरि जागरूकता अभियानहरू तीव्र पार्न आह्वान गरे। उनले एनसीओआरडी समितिलाई प्रत्येक जिल्लाका जिल्लापाल र प्रहरी अधीक्षकहरूसँग राज्य-स्तरीय बैठकहरू आयोजना गर्न निर्देशन दिए।