खरसाङ: भारतेली नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं शिक्षाविद् हस्त नेचालीको असामयिक निधनको खबर सुने पच्छ्यात सालबारीका साहित्य प्रेमीहरू एकत्रित भई सविता गोम्देन साहित्य कक्षमा शोक सभाको कार्यक्रम आयोजन गरेका छन्। वरिष्ठ कवि डाक्टर सञ्जय बान्तवाको बाहुलीबाट स्व. हस्त नेचालीको तस्विर अघि दीप प्रज्ज्वलन गरेपछि उपस्थित सम्पूर्ण साहित्यिक सर्जकहरूले खादा, पुष्पद्वारा श्रद्धा-सुमन अर्पण गर्दै एक मिनेटको मौनधारण गरे। उक्त कार्यक्रम वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले सञ्चालन गरेका थिए। यस शोक सभामा कवि डाक्टर सञ्जय बान्तवाले वरिष्ठ साहित्यकार एवं शिक्षाविद् हस्त नेचालीको व्यक्तित्वमाथि प्रकाश पार्दै नेचालीको अपूर्व योगदानबारे चर्चा गरे। डाक्टर बान्तवाले आफ्नो मन्तव्यमा भने – ‘साहित्यकर्म, संस्कृतिकर्म भनेको एउटा वन जस्तो हो रहेछ। वनमा कुनै कुनै ठूल्ठूला वृक्ष हुन्छन्, कुनै ससाना पनि हुन्छन्।कुनै मूल्यवान, औषधीय गुण भएका, कुनै सामान्य वृक्ष हुन्छन्। वन हेर्दा तर हामी रुख मात्र हेर्दैनौँ।रुख गन्ती गर्नु मात्र वन हेर्नु होइन। सम्पूर्ण वृक्षका सामूहिक उपस्थिति र प्रभावले सुन्दर वन बनेको हुँदछ। त्यसै गरी हस्त नेचाली नेपाली साहित्य-वनका एकजना महत्त्वपूर्ण सदस्य हुन्। उनको अनुपस्थितिमा अब एउटा मूल्यवान स्थान खाली भएको छ।
उनी निरन्तर र इमान्दार लेखक हुन्। उनको योगदान अनन्य छ’।
यस अवसरमा साहित्यकार कृष्ण प्रधान अर्पणले आफ्नो मन्तव्यमा भने- ‘तीनधारे क्षेत्रमा लामो समयदेखि शिक्षा र साहित्यमा सेवा गरेका एंव भूतपूर्व शिक्षक, प्रधान अध्यापक हस्त नेचालीको योगदान सराहनीय छ, वरिष्ठ साहित्यकार हस्त नेचालीले विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्। उनले सत्तरको दशकदेखि साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएका छन्। उनको कृतिहरूमा ‘प्रबन्ध रचना र व्याकरणका केही अंशहरू, समीक्षा संकलन, नाटकहरू र कथा संग्रह आदि प्रकाशित छन् भने उनले पुस्तकहरू र पत्र पत्रिकाहरू पनि सम्पादन गरिसकेका कुरालाई उजागर गरे। यस अवसरमा वरिष्ठ कथाकार मणिकुमार प्रधानले आफ्नो मन्तव्यमा स्व. हस्त नेचालीको योगदान बारे भने- ‘तीनधारेलाई उनले मन, वचन र कर्मले माया गरे, सेवा गरे। ‘कर्म नै पुजा’ भन्ने सिद्धान्तलाई उनले अक्षरश: पालन गर्दै तीनधारेको शैक्षिक, साहित्यिक, सांस्कृतिक, साङ्गीतिक, सामाजिक, धार्मिक र खेलकुद क्षेत्रमा संलग्न भएर यथायोग्य योगदान दिने प्रयासलाई उजागर गराए’।
यसै क्रममा कथाकार आइएन शर्माले नेचालीको जीवन र कृतित्व माथि आफ्नो मन्तव्य राख्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरे भने रम्बास कवि लीलबहादुर सोनारले हार्दिक श्रद्धा-सुमन अर्पण गर्दै हस्त नेचालीको नेपाली साहित्य प्रतिको योगदानको कदर हुनुपर्छ भनि उपस्थित स्रष्टाहरूमा आग्रह गरे। कवि हेमन्त काफ्लेले आफ्नो मन्तव्यमा भने- ‘हस्त नेचाली एकजना सजग एवम् अथक साहित्यकार हुन्। साहित्य-कलालाई अनन्य दृष्टिकोणबाट व्याख्या गरेर उनले व्यवहार्य्य बनाए।’
यस दृष्टिकोणले उनका साहित्यकार व्यक्तित्व साथै कृतित्व महान् छन्। उनको व्यक्तित्व र कृतिहरूले उनलाई अजर अमर बनाएर राख्नेछ भन्ने तथ्यलाई प्रस्ट पारे। उनले हस्त नेचालीको भाषासाहित्य प्रतिको प्रतिबद्धताबारे बोल्दै हस्त नेचालीलाई स्मरण गर्नु अब साहित्य-समाजको उत्तरदायित्व हो। हस्त नेचाली अनुज तथा उदीयमान साहित्यिक सर्जकहरूका निम्ति एक महान आदर्श लगायत प्रेरणाका स्रोत हुन्’। कार्यक्रममा वरिष्ठ कवि मोहन ठकुरी, कवि निर्मल सिञ्चुरी, कथाकार एवम् चित्रकार शुभास छेत्री विशिष्ट समाजसेवी पूर्ण मगर लगायत साहित्य अनुरागी अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो। अन्त्यमा वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन गर्दै शोक सभा विसर्जनको घोषणा गरे भनी हेमन्त काफ्लेले जानकारी गराएका छन्।









