खरसाङ: खरसाङको डाउहिल हिल सुनौलो परिवार समिति खरसाङले अमृतकालको समय गत वर्ष झैँ यस वर्ष पनि राष्ट्रको ७८औँ स्वतन्त्रता दिवस पालन गऱ्यो।समितिका अध्यक्ष दावा लामाको सभाध्यक्षतामा आफ्नै समाज भवनमा सम्पन्न स्वतन्त्रता दिवसको कार्यक्रम अन्तर्गत सर्वप्रथम अध्यक्षले समाज भवन अघि तिरङ्गा झण्डा उत्तोलन गरे।त्यसपछि देशको स्वाभिमानले फर्फराइरहेको झण्डालाई श्रद्धापूर्वक सलाम गरे उपस्थित सम्पूर्णले राष्ट्रिय गीत गाएर पूर्वार्द्धको कार्यक्रम सम्पन्न गरे।यस अवसरमा समाजका सदस्य भूतपूर्व सैनिक र परिवार पक्षको उपस्थिति रहेको थियो। उत्तरार्द्धको कार्यक्रम समाज भवनमा सम्पन्न भयो। विशेष समाजका उपाध्यक्ष स्वर्गीय शान्ताकुमार प्रधानको आकस्मिक निधनको कारण यस वर्ष यस अवसरमा कुनै रङ्गारङ्ग कार्यक्रम हुन नसकेको सचिव फूर्बा तामाङले आफ्नो सम्बोधनमा जनाए। यस वर्ष समितिले ८० वर्षदेखि ८९ वर्षसम्म पुगेका समाजका वयोवृद्ध सदस्यहरू जम्मा १९ जनालाई आयुष्मान तथा आयुषमति सदस्यताद्वारा सम्मानित गरियो। यो समाजको इतिहासमा पहिलो घटना थियो।

सागर थापाले सञ्चालन गरेको यस कार्यक्रममा उपाध्यक्ष सुष्मा मुखिया, सह सचिवद्वय विनोद रसाइली अनि भाष्कर थापा, कोषाध्यक्ष प्रवीण मुखिया, सह कोषाध्यक्ष प्रभाकर प्रधान लगायत सचिव अनि अध्यक्षको बाहुलीबाट सम्मानित सदस्यहरूलाई खदा तथा स्मृति चिनो प्रदान गरियो। अन्तमा अध्यक्षले उपस्थित सम्पूर्णमा स्वतन्त्र दिवसको शुभकामना टक्राउँदै सबैलाई धन्यवाद ज्ञापन गरे भनी सह सचिव विनोद रसाइलीले जानकारी दिएका छन्।